एमालेले काठमाडौंमा आज जनप्रदर्शन र जनसभा गर्दै
काठमाडौं: नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन तथा जनसभा आयोजना गर्ने भएको छ। एमाले बागमती प्रदेश कमिटीको आयोजनामा निर्वाचनकेन्द्रित जनप्रदर्शन दिउँसो काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने भएको हो।
भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन, कमलादी पुगेर जनसभामा परिणत हुने बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले जानकारी दिए। प्रदर्शन मध्यान्ह १२ बजेदेखि सुरु हुने र जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विशेष चुनावी अभियानको थालनीस्वरूप यो जनप्रदर्शन आयोजना गरिएको एमालेले जनाएको छ।
एमालेले हाल केही निर्वाचन क्षेत्रबाहेक प्रतिनिधिसभा सदस्यका उम्मेदवार टुंग्याइसकेको समेत पार्टीले जानकारी दिएको छ।