सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिफारिस नभएका र आन्तरिक चुनाव हारेकालाई एमालेको टिकट

२०८२ माघ ४, ०२:२२ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रका लागि नेकपा एमालेले उम्मेदवारको टुङ्गो लगाएको छ। शनिवार राति बसेको पार्टीको सचिवालय बैठकले सुदूरपश्चिमका ९ जिल्लाका १६ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको हो।

नेकपा एमालेले सुदूरपश्चिममा जिल्लाबाट सिफारिस नभएका तथा आन्तरिक चुनावमा पराजित भएकाहरूलाई टिकट दिएको छ। सार्वजनिक सूचीअनुसार कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा युवा संघका पूर्वअध्यक्ष बचनबहादुर सिंहलाई एमालेले उम्मेदवार बनाएको छ। सिंह उम्मेदवार सिफारिसको आन्तरिक चुनावमा पराजित भएका थिए।

कञ्चनपुर क्षेत्र नम्बर २ मा उम्मेदवार चयनाका लागि मतदान भएको थियो। मतदानबाट पूर्व सांसद नरबहादुर धामी, वेदकोटका पूर्व नगर प्रमुख अशोककुमार चन्द र प्रदेश कमिटी सदस्य पार्वती जोशी सिफारिस भएका थिए। उम्मेदवार छनोटका लागि भएको मतदानमा जिल्ला अध्यक्ष लक्ष्मी बुढा र बचनबहादुर सिंह पराजित भएका थिए। सिंह २०७९ को निर्वाचनमा कञ्चनपुर २ को  प्रदेश सभा (१) मा माओवादी केन्द्रका ओमविक्रम भाटसँग पारिजात भएका थिए।

एमालेले बझाङबाट पनि जिल्लाबाट सिफारिस नै नभएका अफिलाल ओखेडालाई उम्मेदवार बनाएको छ। बझाङ जिल्ला कमिटीले उम्मेदवारका लागि केन्द्रीय सदस्य ऐनबहादुर महर, मोहनराज जैशी धनलक्ष्मी खत्रीलाई मात्रै सिफारिस गरेको थियो। तर पार्टीले भने सिफारिस नै नभएका ओखेडालाई टिकट दिएको छ।

कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा पनि सिफारिस नै नभएका जिल्ला समन्वय समितिका पूर्वसंयोजक सूर्यबहादुर थापालाई टिकट मिलेको छ। थापा पनि क्षेत्रीय कमिटीबाट सिफारिस नभएका नेता हुन्। त्यहाँबाट पूर्व सांसद झपट रावल, कमलाकुमारी ओली र पूर्व मेयर माहादेव बजगाईको नाम सिफारिस भएको थियो।

एमालेबाट कैलाली १ मा द्वारिका न्यौपाने,  क्षेत्र नम्बर ३ मा गौरीशङ्कर थारू, ४ मा लेखराज भट्ट र ५ मा यज्ञराज ढुङ्गाना चुनाव लड्ने भएका छन्।

यसैगरी, कञ्चनपुर १ मा कमला बोहरा र३ मा दीपकप्रकाश भट्ट, दार्चुलाबाट गणेशसिंह ठगुन्ना तथा बैतडीबाट दामोदर भण्डारी उम्मेदवार बन्ने भएका छन्।

एमालेले सार्वजनिक गरेको सूचीअनुसार बाजुरामा लालबहादुर थापा, डोटीमा दिपक धामी, डडेल्धुरामा चक्र स्नेही उम्मेदवार बन्ने भएका छन्।

एमाले क्षेत्रीय र जिल्ला कमिटीबाट सिफारिस  सिफारिस भएका बाजुराका कर्ण थापा, कञ्चनपुरका तारा लामा तामाङ, कैलालीका नारदमुनि राना, कैलालीकै झपट रावल, बझाङका ऐन महर र कञ्चनपुरका नरबहादुर धामीलाई एमालेले यो पटक टिकट दिएन।

यस्तै, प्रदेश सभा सदस्य त्यागेर डोटीबाट उम्मेदवार बन्ने तयारीमा रहेका चक्र मल्ललाई पनि पार्टीले उम्मेदवार बनाएन।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस