कांग्रेस नेतृत्व परिवर्तनपछि सागर ढकालले डडेलधुराबाट चुनाव नलड्ने निर्णय
धनगढी: डडेलधुराबाट चुनाव लड्ने तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता सागर ढकालले कांग्रेसभित्रको राजनीतिक परिवर्तनसँगै डडेलधुराबाट उम्मेदवारी नदिने निर्णय गरेका छन्। कांग्रेसको नेतृत्वमा गगन थापा आएपछि डडेलधुराबाट चुनाव लड्नु उपयुक्त नदेखिएको ढकालको भनाइ छ।
ढकालका अनुसार यस विषयमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग समेत छलफल भइसकेको छ। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा राजनीतिक रूपमा किनार लागेपछि डडेलधुराको राजनीतिक अवस्था फेरिएको उनले बताए।
देउवाको बहिर्गमनलाई ‘ढलेको रुख’को संज्ञा दिँदै ढकालले देउवा उम्मेदवार बने पनि आफू डडेलधुराबाट नउठ्ने स्पष्ट पारे। “हजुरबुबा पुस्ताको राजनीति सकिएको छ। शेरबहादुर देउवा पार्टीबाट बाहिरिएपछि र टिकट गगन थापाले दिने अवस्थामा म किन डडेलधुरा जानु रु” उनले भने।
अब आफू कहाँबाट चुनाव लड्ने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको र आइतबारभित्र टुंगो लाग्ने ढकालले जानकारी दिए। उनका अनुसार रुपन्देही वा गुल्मीमध्ये कुनै एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारी छ।
अघिल्लो निर्वाचनमा डडेलधुराबाट उम्मेदवारी दिनु समयको आवश्यकता भएको उल्लेख गर्दै ढकालले अब पनि डडेलधुरा तथा समग्र सुदूरपश्चिमका मुद्दा उठाइरहने बताए। “डडेलधुरा नजाँए पनि त्यहाँका समस्यालाई उठान गर्छु,” उनले भने।
२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनभन्दा चार महिना अघि ढकालले सामाजिक सञ्जालमार्फत “नाइट बस चढेर डडेलधुरा जाँदै छु” भन्दै आफ्नो उम्मेदवारीको घोषणा गरेका थिए। सो निर्वाचनमा उनले १३ हजार ४३ मत प्राप्त गरेका थिए भने शेरबहादुर देउवाले २५ हजार ५३४ मत ल्याएर विजयी भएका थिए।