अमरेशकुमार सिंह रास्वपा प्रवेश
काठमाडौँः पूर्वसांसद अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सक्रिय भएका छन्। उनले आज जनकपुरधाममा आयोजना भएको रास्वपाको सभाबाट औपचारिक रूपमै पार्टी प्रवेश गरेका छन्।
सिंहले देश र मधेशमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध स्वतन्त्र रहँदा उठाउँदै आएको आवाज अब पार्टीभित्रबाट अझ सशक्त रूपमा उठ्ने बताएका छन्। मधेशको हित चाहने, शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधारको विकासमा विश्वास राख्ने सबैलाई एकताबद्ध हुन उनले आह्वान गरेका छन्।
जनकपुरधाम पुगेका सिंह वरिष्ठ नेता बालेन्द्र शाहसँगै बिहानै जानकी मन्दिर दर्शनका लागि पुगेका थिए।
गत निर्वाचनमा सिंहले नेपाली काँग्रेस परित्याग गरी सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेर विजय हासिल गरेका थिए। यसपटक पनि सोही क्षेत्रबाट रास्वपाबाट चुनाव लड्ने तयारीमा रहेका उनले बताएका छन्। यद्यपि टिकटको टुङ्गो भने हालसम्म लागेको छैन। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले आज जनकपुरधामबाटै मधेशका उम्मेदवारहरू टुङ्ग्याउने तयारी गरिरहेका छन्।