सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका दुई मतदान केन्द्रमा मतदान सुरु भएन, स्थानीयको ‘नो भोट’ अभियान

२०८२ फाल्गुन २१, ११:४४ खबर संवाददाता

दार्चुलाः दार्चुलाको अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला माध्यमिक विद्यालय मतदान केन्द्रमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन। स्थानीय मतदाता मतदान गर्न नआएपछि मतदान प्रक्रिया सुरु हुन नसकेको हो।

यसअघि नै यहाँका स्थानीयले दुई वटा मतदान केन्द्रमा मतदानमा सहभागी नहुने निर्णय गरेका थिए। नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर आधारभूत विद्यालय, नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय, झुस्कुका मतदाताले ‘नो भोट’ अभियानअन्तर्गत मतदान नगर्ने अडान लिएका हुन्।

नागुका स्थानीयलाई मतदानमा सहभागी गराउन बुधबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढीबाट नागु पुगेर छलफल गरेका थिए। तर, छलफलपछि पनि स्थानीय आफ्नो निर्णयबाट पछि नहटेको नागु विकास संघर्ष समितिका संयोजक करनसिंह डडालले बताए।

उनका अनुसार प्रदेश सरकारको पहल ढिलो गरी आएको र आगामी बजेटमा माग सम्बोधन गर्ने आश्वासनप्रति स्थानीयले विश्वास नगरेका कारण ‘नो भोट’ अभियान यथावत राखिएको हो। प्रस्ताव ढिलो आएपछि जनतासँग पर्याप्त छलफल गर्न पनि समय नभएको उनले बताए।

यसअघि माघ २४ गते प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको टोली पनि स्थानीयलाई मनाउन नागु पुगेको थियो। नागुस्थित गौरीशंकर माध्यमिक विद्यालय मतदान केन्द्रमा ६०२ मतदाता रहेका छन्।

यस्तै, अपिहिमाल गाउँपालिका–३ का केही बस्तीका बासिन्दाले फागुन १५ गतेदेखि ‘नो भोट’ अभियान सुरु गरेका छन्। २०७४ सालमा गरिएको वडा विभाजनका कारण वडा कार्यालय अपायक स्थानमा रहेको भन्दै वडा पुनःविभाजन नभएसम्म मतदान नगर्ने निर्णय गरिएको स्थानीय कमलसिंह रोकायाले बताए।

दुधिला आधारभूत विद्यालय मतदान केन्द्रअन्तर्गत पर्ने झुस्कु, चौड, छविस र भट्टार गाउँका मतदाताले पनि बैठकमार्फत मतदान नगर्ने निर्णय दोहोर्‍याएका छन्। उक्त मतदान केन्द्रमा ३४६ जना मतदाता रहेका छन्।
 

कमेन्ट लोड गर्नुस