सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–५ बाट भारी मतान्तरले चुनाव जितेका डा.आनन्द चन्द काे हुन?  

२०८२ फाल्गुन २३, ०५:१५ जयन्त सिंह भाट

धनगढीः प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. आनन्द बहादुर चन्द विजयी भएका छन्। उनले कुल ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै अन्य प्रतिस्पर्धी उम्मेदवारलाई भारी मतान्तरले पछि पार्दै जीत हासिल गरेका हुन्।

निर्वाचन क्षेत्र नं. ५ मा नेपाली काँग्रेसबाट नरनारायण शाह उनका निकटतम प्रतिद्वन्दी रहेका थिए शाहले ११ हजार ९५८ मत प्राप्त गरे। कैलाली ५ मा नेकपा एमालेबाट यज्ञ ढुङ्गाना, नेकपाबाट प्रेम आले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रोशन शाही तथा विप्लव नेतृत्वको नेकपा माओवादीबाट बबरजंग सिंह उम्मेदवारका रूपमा प्रतिस्पर्धामा थिए। विभिन्न राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा रहे पनि अन्ततः रास्वपाका चन्दले सबैलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

डा. आनन्द बहादुर चन्द विज्ञान तथा अनुसन्धान क्षेत्रसँग सम्बन्धित व्यक्तित्वका रूपमा परिचित छन्। उनले रसायनशास्त्र विषयमा उच्च शिक्षा हासिल गरेका छन् र विज्ञान तथा अनुसन्धानका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीमा उनले विद्यावारिधि (पीएचडी) अध्ययन समेत गरेका छन्।

शिक्षा तथा अनुसन्धान क्षेत्रसँगै उनी विभिन्न सरकारी तथा संस्थागत जिम्मेवारीमा पनि सक्रिय रहेका छन्। उनी नेपाल सरकारअन्तर्गतको नेपाल खाद्य संस्थानको सञ्चालक समितिका अध्यक्षका रूपमा काम गरिसकेका छन्। त्यसैगरी बीपी कोइराला मेमोरियल प्लानेटेरियम, अब्जर्भेटरी एण्ड साइन्स म्युजियमका कार्यकारी निर्देशकका रूपमा पनि उनले जिम्मेवारी सम्हालेका थिए। विज्ञान, प्रविधि र अनुसन्धानको विकासका लागि उनले विभिन्न कार्यक्रम तथा पहलहरू अघि बढाएका थिए।

डा. चन्दले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न तालिम तथा सम्मेलनहरूमा सहभागी हुँदै नेतृत्व, सार्वजनिक स्वास्थ्य र वैज्ञानिक अनुसन्धानसम्बन्धी विषयमा अनुभव हासिल गरेका छन्। उनले विश्वका विभिन्न देशको भ्रमण गर्दै शिक्षा, विज्ञान र नीतिगत विकाससम्बन्धी अनुभव समेत सँगालेका छन्।

यस पटकको निर्वाचनमा वैकल्पिक राजनीतिक शक्तिको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिएका चन्दले सुशासन, पारदर्शिता, वैज्ञानिक सोच र विकासलाई प्राथमिकतामा राख्दै मतदातासामु आफ्ना एजेन्डा प्रस्तुत गरेका थिए। मतदाताले पनि उनको एजेन्डालाई समर्थन गर्दै ३१,९५३ मत प्रदान गरेका हुन्।

कैलाली–५ सुदूरपश्चिमको महत्वपूर्ण निर्वाचन क्षेत्र मानिन्छ। परम्परागत रूपमा ठूला राजनीतिक दलहरू नेपाली काँग्रेस र नेकपा एमालेकाे प्रभाव रहेको यस क्षेत्रमा रास्वपाका उम्मेदवारको जीतलाई राजनीतिक रूपमा महत्वपूर्ण उपलब्धिका रूपमा पनि हेरिएको छ। स्थानीय स्तरमा नयाँ नेतृत्वको अपेक्षा गरेका मतदाताले यसपटक परिवर्तनको पक्षमा मत दिएका विश्लेषण गरिएको छ।
 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस