रास्वपाले कटायो समानुपातिकमा १० लाख मत
काठमाडौँ: प्रतिनिधि सभा निर्वाचन २०८२ मा आक्रामक ढंगले प्रत्यक्षतर्फ जित हासिल गरिरहेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा पनि १० लाख मत कटाएको छ।
पछिल्लो तथ्याङ्क अनुसार कुल १९ लाख ४५ हजार १५५ मतगणना हुँदा रास्वपाले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेको हो। रास्वपाले १० लाख ९ हजार ८ सय २९ मत प्राप्त गर्दै अग्रता कायम गरेको छ । गगनकुमार थापा सभापति रहेको नेपाली कांग्रेसले हालसम्म ३ लाख ३० हजार ५३२ मत अर्थात् १६.९९ प्रतिशत प्राप्त गरेको छ।
त्यस्तै केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) २ लाख ६३ हजार ४०८ मतका साथ तेस्रो स्थानमा छ, जुन कूल मतको १३.५४ प्रतिशत हो। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी १ लाख ९४ हजार ६ सय ९८ समानुपातिक मत पाएको छ।
नेकपाले मतगणनाको ५.९२ प्रतिशत ल्याउँदै थ्रेस होल्ड कटाएको हो। यता राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७१ हजार ९ सय ३७ समानुपातिक मत प्राप्त गरेको छ। जुन हाल गणना भएको मतको ३.७१ प्रतिशत हो। राप्रपाले पनि थ्रेस होल्ड बल्लतल्ल कटाएको छ। श्रम संस्कृति पार्टीले भने ४२ हजार १८८ मत ल्याएको छ, गणना भएको २.१७ प्रतिशत मत प्राप्त गरे पनि यसले थ्रेस होल्ड कटाउन सकेको छैन।