गगनको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाको १८ वर्षे संसदीय यात्रामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का अमरेश कुमार सिंहले ब्रेक लगाएका छन्।
आइतबार बिहान सम्पन्न सर्लाही–४ को अन्तिम मतपरिणाम अनुसार अमरेशले गगनलाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन्। अमरेशले ३५ हजार ६८८ मतले ल्याउँदा गगनले २२ हजार ८३१ मत प्राप्त गरे। गगन २०६४ सालदेखि संसदीय यात्रामा थिए । पहिलोपटक समानुपातिक प्रणालीबाट निर्वाचित उनले पछिल्लो ३ पटक काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट जित निकालेका थिए।
गगन गत पुसमा भएको कांग्रेसको दोस्रो महाधिवेशनबाट कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए। कांग्रेसले गगनलाई नै भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको थियो। गगन २०५१ सालमा त्रिचन्द्र क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनमा सदस्य निर्वाचित भएका थिए। २०५५ सालमा सोही क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए। २०५७ सालमा नेपाल विद्यार्थी संघको उपाध्यक्ष हुँदै २०५९ मा महामन्त्री बने। कांग्रेसले आधिकारिक रुपमा स्वीकार गर्नुअघि नै गणतन्त्रको पक्षमा वकालत गरेका उनी २०५९ असोजपछि राजकाज मुद्दामा परेका थिए।
२०६२–०६३ को आन्दोलनमा गणतन्त्रका पक्षमा खेलेको भूमिकाले थापालाई चर्चित बनायो। अहिले उनले पुस्तान्तरणलाई मुद्दा बनाएका छन्।
पार्टीको १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित थापा २०७२ सालको १३ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए। गत वर्षको १४ औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित भएका थापा २०६४ सालको संविधान सभामा समानुपातिकबाट सदस्य बनेका थिए। दोस्रो संविधान सभामा काठमाडौं ४ बाट जितेका उनी अहिलेसम्म त्यही क्षेत्रबाट अपराजित छन् । २०७० सालमा उनी स्वास्थ्य मन्त्री बनेका थिए।
यस्तै अमरेश कुमार सिंह नेपालका एक चर्चित राजनीतिज्ञ तथा प्रतिनिधिसभाका सदस्य हुन्। उनको जन्म ५ सेप्टेम्बर १९७० मा सर्लाहीको बलरा क्षेत्रमा भएको हो। उनले उच्च शिक्षा भारतको जहारलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा पीएचडी गरेका छन्। सुरुमा मधेशकेन्द्रित आन्दोलनबाट राजनीतिमा आइका थिए अमरेश। सुरुमा मधेशी जनाधिकार फोरममार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनी पछि उनी नेपाली कांग्रेसमा प्रवेश गरी सक्रिय राजनीतिमा लागे।
२०७० र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सर्लाही क्षेत्र नं. ४ बाट सांसद निर्वाचित भएका थिए। त्यसपछि २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिए र फेरि निर्वाचित भए। संसदमा लोकप्रिय हुने खालको वक्तव्य दिनेदेखि संसदमै लुगा खोल्नेसम्मको हर्कतका कारण उनी चर्चित बन्दै आएका थिए। पछिल्लोपटक रास्वपाबाट उम्मेदवार बनेका उनले बालेन शाह प्रधानमन्त्री नबने जनकपुरमा आत्मदाह गर्ने र आफू निर्वाचित नभए आत्महत्या गर्ने अभिव्यक्ति दिएका थिए।