तुसारपानी–तिङ्कर सडक निर्माण बन्द
दार्चुलाः नेपालीले निर्माण गरिरहेको दार्चुलास्थित निर्माणाधीन तुसारपानी–तिङ्कर सडक निर्माण एक महिनादेखि बन्द रहेको छ । सडक निर्माणका लागि छुट्याइएको बजेट सकिएपछि सडक निर्माण बन्द भएको नेपाली सेनाको दार्चुला–तिङ्कर सडक आयोजनाका आयोजना प्रमुख एवं प्रमुख सेनानी राजेश कटवालले जानकारी दिए।
सरकारले चालु आव २०८२/८३ का लागि तिङ्कर सडक निर्माणमा एक करोड रुपियाँ मात्रै बजेट विनियोजन गरेको छ । तिङ्कर सडकमा सेनालाई छ करोड ३१ लाख रुपियाँ बजेट प्राप्त भएकोमा यसमध्ये सडक निर्माणका लागि एक करोड रुपियाँ मात्रै बजेट राखिएको उनले बताए।
सडक निर्माणका लागि विनियोजित बजेट एक करोड रुपियाँ खर्च भइसकेको तथा सडक निर्माण कार्य माघ १८ गतेदेखि बन्द रहेको उनले बताए। यसअघि दुईतिरबाट निर्माण भइरहेको सडक बजेट अभावमा रोकिएको उनले जानकारी दिए। सरकारले विनियोजन गरेको बाँकी बजेटले भवन निर्माण र मेसिनरी औजार खरिद गर्ने शीर्षकमा रहेको उनले बताए। उनले भने “हामीलाई टाउको लुकाउन सानो छानो भए हुन्छ भवन चाहिँदैन, भवन निर्माण र मेसिनरी औजार खरिदको बजेट सडक निर्माणमा हालिदिन आग्रह गरेका छौँ ।”
नेपाली सेनाले निर्माणको जिम्मेवारी पाएको तुसारीपानी–तिङ्कर सडक आयोजनामा प्राप्त बजेटलाई संशोधन गरी सडक निर्माण शीर्षकमा राखिदिन संशोधनको प्रस्तावसहितको पत्र भौतिक मन्त्रालयलाई पठाएको उनले बताए। बजेट संशोधन भएको कुनै जानकारी प्राप्त नभएको तथा संशोधनको प्रक्रियामै रहेको हुन सक्ने उनले बताए। सेनाले चालु आर्थिक वर्षको विनियोजित बजेटमध्ये चार करोड रुपियाँ सडक निर्माणमा खर्च गर्न बजेट संशोधनको प्रस्ताव गरेको उहाँले बताउनुभयो । सेनाको प्रस्ताव अनुसार बजेट संशोधन नहुँदा सडक निर्माण ठप्प बनेको छ ।
व्यास गाउँपालिकाको माल र दुम्लिङ क्षेत्रका बासिन्दाले सडक निर्माणमा रोजगारी पाइरहेकोमा निर्माण बन्द हुँदा अहिले बेरोजगार हुनु परेको स्थानीय जनकसिंह धामीले बताए। नेपाली सेनाले पुस मसान्तसम्मको अवधिमा व्यास गाउँपालिका–२, आतुङ्ती र कल्जु क्षेत्र जोड्ने गरी सडकको ट्र्याक खोलेको छ । यस क्षेत्रमा सडक निर्माण भएपछि व्यासको छाङरु जोड्ने पैदल बाटो पनि सञ्चालनमा आएको छ । सेनाको प्रस्ताव अनुसार बजेट संशोधन भएपछि चालु आवमा चार करोड बजेट खर्च गरेर एक हजार चार सय मिटर ट्र्याक निर्माण र एक हजार दुई मिटर सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकोउनले बताए।
आर्थिक वर्ष २०७७/७८ देखि यो सडकलाई नेपाली सेनाले निर्माण गरिरहेको छ । प्रर्याप्त बजेट उपलब्ध भएमा हेलिकोप्टरमार्फत सडक निर्माणमा प्रयोग हुने ठुलठुला मेसिन ढुवानी गरी सडक निर्माणको काम अघि बढाउन सकिने उनले बताए।
तुसारपानीदेखि तिङ्करसम्मको ७९ किलोमिटरमध्ये नेपाली सेनाले हालसम्म १८.५ किलोमिटर सडकको ट्र्याक खोलिसकेको उहाँले जानकारी दिनुभयो । नेपाली सेनाले चालु आवमा छाङ्रुबाट तल एक किलोमिटर सडकको नयाँ ट्र्याक खोलेको आयोजना प्रमुख एवं प्रमुख सेनानी कटवालले बताउनुभयो । यस वर्षको बजेट अनुसार १.४ किलोमिटर सडक निर्माणको लक्ष्य पाएको सेनाले एक किलोमिटर सडक निर्माण गरिसकेको छ ।
लक्ष्य अनुसार निर्माण गर्न बाँकी रहेको चार सय मिटर सडक निर्माणको काम तत्काल सम्पन्न गरिने उहाँले बताउनुभयो । नेपाली सेनाले गत वर्ष ८.५ किलोमिटर तथा यस वर्ष छ सय मिटर सडकको स्तरोन्नति गरेको छ ।