बजेट अभावमा जोशीपुर-४ मा बनिरहेको पुल निर्माण रोकियो
धनगढीः कैलालीको जोशीपुर गाउँपालिका–४, हस्नापुरस्थित घैलानालामा बनिरहेको पुल बजेट अभावमा रोकिएको छ । पुलको तीन वटा पिल्लरको फाउन्डेसन मात्रै तयार भएको छ । ठेक्का अनुसार पिल्लर उठाएर ढलान गर्ने र दुवै किनारमा तटबन्ध गर्नुपर्ने छ । दैनिक हजारौँ मानिस चल्ने जोशीपुर–भजनी सडकमा बनेको पुरानो पुल भत्काएर नयाँ बनाउन लागिएको हो ।
स्थानीय रामबहादुर चौधरीले भने, ‘पुग्दो बजेट र पुल समयमै सकिने निश्चित भएपछि मात्रै भत्काउन दिन्छौँ भनेका हौँ । लापर्बाही किसिमले काम गरेर छोडेको छ ।’ अर्की स्थानीय दिलमाया चौधरीका अनुसार वैकल्पिक बाटो नबनाइदिँदा चार किलोमिटरभन्दा बढी फन्को मार्नु परेको छ । विद्यालय जाने बालबालिका र ज्येष्ठ नागरिकलाई धेरै समस्या भएको उनले बताइन्। पुलको छेउमै घर भएका बालकृष्ण चौधरीले किनार भत्काइसकेकाले समयमा काम नभए आफ्नो घर यसै वर्ष भत्काउने चिन्ता बढेको बताए।
डेढ वर्षमा काम सक्ने गरी दुई करोड रुपियाँको लागतमा पुलको ठेक्का भएको थियो । पुलको फाउन्डेसन बनाइसकेपछि छुट्याएको बजेट सकिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयबाट ठेक्का लिएका निर्माण व्यवसायी एकेन्द्र मल्लले भने, ‘दुई करोडमा ठेक्का सम्झौता भएको हो । विनियोजन भएको ५० लाखको काम सकियो । अहिले थप बजेट नभएपछि साइट छोडेका छौँ ।’ एक वर्ष छ महिना ठेक्का अवधि भएकाले प्रदेश सरकारले बजेट थपेमा यसै वर्षमा थप काम हुने मल्लको भनाइ छ ।
कैलालीका बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाको माथिल्लो भेगबाट तल्लो भेक जाने र भजनी नगरपालिका जाने मानिस यही सडक भएर ओहोरदोहोर गर्छन् । साधन हुनेलाई अहिले वैकल्पिक बाटो भए पनि पुल नबने वर्षामा धेरै समस्या हुने स्थानीइ रामबहादुरको भनाइ छ ।