सुदूरपश्चिम प्रदेश सरकारसँग प्रमुख प्रतिपक्ष रिसायो!
धनगढी: सुदुरपश्चिम प्रदेश सरकारप्रति प्रमुख प्रतिपक्ष दल आक्राेशित बनेकाे छ। लगातार खबरदारी गर्दा पनि सुशासन दिन प्रदेश सरकार असफल भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपाले आक्राेश ब्यक्त गरेकाे हाे।
सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस र नेकपा एमालेकाे संयुक्त सरकार छ। जसमा नेपाली काँग्रेसका नेता कमलबहादुर शाह मुख्यमन्त्री रहेका छन भने माओवादी केन्द्र, समाजवादी र नागरिक उन्मुक्ति मिलेर बनेकाे नेकपा प्रमुख प्रतिपक्ष दल रहेकाे छ।
बिहीवार नेकपा सुदूरपश्चिम संसदिय दलले पत्रकार सम्मेलन गरि सरकारका गतिबिधि प्रति आक्राेश पाेखेकाे हाे। दलका नेता खगराज भट्टले फागुन २१ काे निर्वाचनकाे परिणामले पुराना दलले सचेत र गम्भीर बन्नु पर्ने वेला आएकाे बताए। पत्रकार सम्मेलनमा नेता भट्टले भने, 'सुदूरपश्चिम सरकार मृत हाे या जिवित हाे थाहा छैन। सरकार सुशासन दिन, कानुन निर्माण गर्न र आफू माथी उठेका प्रश्नको समेत जवाफ दिन र जिम्मेवारी लिनबाट भाग्ने प्रयत्नमा लागेको छ।'
उनले प्रदेश सरकार एकदम निरीह र गैरजिम्मेवार देखिएकाे बताए। उनले भने, 'संसद बैठक, समितिका बैठक लगायत सबै अस्तब्यस्त छन्, हिउँदे अधिवेशन सुरु गर्ने कुनै सुरसार छैन, प्रदेश सरकार सुतेकाे अवस्थामा छ।'
मुख्यमन्त्री माथी नै भ्रष्टाचारकाे आराेप लाग्दा पनि मुख्यमन्त्री निरीह भएर कुर्सीमा बसिरहेकाे उनकाे आराेप छ । नेता भट्टले बजेट कार्यान्वयनकाे अवस्था एकदमै निरासाजनक रहेकाे, पटक पटक सचेत गराउँदा, ध्यानाकर्षण गराउँदा पनि प्रदेश सरकार नसुन्ने अबस्थामा रहेकाे बताए । नेता भट्टले भने, 'प्रदेशकाे वन मन्त्रालय सारै विवादमा छ, मन्त्रालय काठ व्यवसायीले चलाइरहेका छन्।
प्रमुख प्रतिपक्षी दलका नेता भट्टले वन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय माफियाले चलाउने हो कि सरकारले? भन्दै प्रश्न उठाएका छन्।
उनले कानुन निर्माणदेखि विकास निर्माणका काम गर्न सरकार असफल भएको जिकिर गरेका छन्। उनले भने, 'सदन नचलेका कारण बाहिर वाेल्नु पर्ने अवस्था प्रतिपक्षलाई आएकाे छ। सरकार संवाद गर्ने मनस्थितिमा छैन। सरकारले प्रश्नबाट भाग्ने गतिविधि गरेको छ।'
नेता भट्ट भ्रष्टाचार भएको र कमिसन मागिएको घटना सार्वजनिक भएको अवस्थामा त्यसको जवाफ सरकारले संसदमा दिनुपर्ने बताएका छन्। उनले बर्खे अधिवेशनमा कुनै काम गर्न नसकेको सरकारले हिउँदे अधिवेशनसमेत नबोलाएको बताएका छन्।