मुख्यमन्त्री शाहमाथि ५ लाख घुस मागेको आरोप : डिभिजनल वन अधिकृत भट्टसँग मागियो स्पष्टीकरण
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले घुस मागेको आरोप लगाएपछि वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टसँग स्पष्टीकरण मागिएको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबार भट्टलाई पत्र पठाउँदै २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार मुख्यमन्त्रीविरुद्ध घुस मागिएको अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि त्यसको वास्तविकता स्पष्ट पार्न भट्टसँग जवाफ मागिएको हो।
भट्टले एक सञ्चारमाध्यमसँगको कुराकानीमा मुख्यमन्त्री शाहले आफूबाट ५ लाख रुपैयाँ घुस मागेको आरोप लगाएका थिए। उनले सो रकम दिन अस्वीकार गरेपछि आफूलाई धनगढीस्थित डिभिजन वन कार्यालयबाट सरुवा गरिएको दाबी गरेका छन्।
मन्त्रालयले तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए निजामती सेवा ऐनअनुसार कारबाही हुन सक्ने चेतावनी पनि दिएको छ।
यता मुख्यमन्त्री शाहले भने आफूमाथि लागेको आरोप निराधार भएको बताउँदै आवश्यक परे छानबिनका लागि आफू तयार रहेको प्रतिक्रिया दिएका छन्।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीमाथि लागेको आरोपको निष्पक्ष न्यायिक छानबिन गर्न माग गरेको छ।
उल्लेखनीय छ, आर्थिक विवादकै कारण गत असारमा मुख्यमन्त्री शाहले तत्कालीन वनमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए। त्यसयता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले नै सम्हाल्दै आएका छन्।