डोटीमा निर्मित कोल्ड स्टोर ८ महिनादेखि प्रयोगविहीन, कार्यविधि नबन्दा सञ्चालनमा ढिलाइ
डोटी: डाेटीको दिपायल सिलगढी नगरपालिका–२ मा निर्माण सम्पन्न भएको ८ महिना बितिसक्दा पनि कोल्ड स्टोर भवन सञ्चालनमा आउन सकेको छैन । कृषि उत्पादन भण्डारण गरी किसानलाई राहत दिने उद्देश्यले बनाइएको कोल्ड स्टोर कार्यविधि नबन्दा प्रयोगविहीन बनेको हो ।
नगरपालिकाले ७५ लाख ८० हजार रुपैयाँ लागत अनुमान गरेर बोलपत्र आह्वान गरेको थियो । २०८१ पुस २३ गते प्रकाशित बोलपत्रमा एसएस कन्स्ट्रक्सनले ६३ लाख १२ हजार ७ सय ९८ रुपैयाँमा ठेक्का पाएको थियो। निर्माण कार्य २०८२ असार २० गते सम्पन्न भए पनि अहिलेसम्म सञ्चालन प्रक्रिया सुरु हुन सकेको छैन ।
३० टन क्षमताको उक्त कोल्ड स्टोरमा तरकारी तथा फलफूल भण्डारण गर्न सकिने व्यवस्था गरिएको छ। भवनभित्र ६ वटा एसी जडान गरिएको छ भने करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको जेनेरेटर पनि राखिएको छ । नगरपालिकाका ओभरसियर सुनिल भण्डारीका अनुसार पूर्वाधार तयार भए पनि सञ्चालन कार्यविधि नबन्दा सेवा सुरु गर्न ढिलाइ भएको हो ।
‘संरचना तयार छ, आवश्यक उपकरण पनि जडान गरिएको छ,’ उनले भने, ‘तर सञ्चालनका लागि आवश्यक कार्यविधि नबन्दा प्रयोगमा ल्याउन ढिलाइ भइरहेको छ।’
नगरपालिकाका कृषि शाखा प्रमुख हिक्मत साउँदका अनुसार कोल्ड स्टोर सञ्चालनका लागि चालु आर्थिक वर्षमा ३ लाख ३४ हजार रुपैयाँ बजेट समेत विनियोजन गरिएको छ। ‘हाम्रा लागि यो नयाँ अभ्यास हो,’ उनले भने, ‘सञ्चालन मोडालिटी तय गर्न केही समय लागेको हो। अब चाँडै सञ्चालन गर्ने तयारी भइरहेको छ।’
कोल्ड स्टोर सञ्चालनमा आए स्थानीय किसानलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। अहिले उत्पादन भएका तरकारी तत्काल बजारमा बेच्नु पर्दा किसानले उचित मूल्य पाउन सकिरहेका छैनन्।
‘हामीले उत्पादन गरेका तरकारीले राम्रो भाउ पाउँदैन,’ नगरपालिका–५ घोल्ताडाका कृषक नवीन भण्डारीले भने, ‘मिहिनेत र खर्च धेरै हुन्छ तर आम्दानी कम हुन्छ। कोल्ड स्टोर सञ्चालनमा आए केही दिन राखेर राम्रो मूल्यमा बेच्न सकिन्थ्यो।’
दिपायल सिलगढी नगरपालिकाभित्र घोल्ताडा, दिसिनपा–२ पनेबाटा, वडा नम्बर ४ मटेला, कुमालीकोट–पिपल्ला र दिपायल क्षेत्रलाई प्रमुख तरकारी पकेट क्षेत्र मानिन्छ । ती क्षेत्रमा बर्सेनि ठूलो परिमाणमा तरकारी उत्पादन हुने भए पनि भण्डारणको अभावमा किसानले समस्या भोग्दै आएका छन् ।
यही समस्यालाई समाधान गर्ने उद्देश्यले कोल्ड स्टोर निर्माण गरिएको भए पनि संरचना बनेको लामो समय बित्दा समेत सञ्चालनमा आउन नसक्दा किसान भने अझै प्रतीक्षामै छन्। स्थानीयहरूका अनुसार कार्यविधि छिट्टै बनाएर कोल्ड स्टोर सञ्चालनमा ल्याउन सके कृषि उत्पादनको उचित व्यवस्थापन र किसानको आम्दानी दुवैमा सुधार आउने विश्वास गरिएको छ।