समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने
काठमाडौँः निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई आज बिहान प्रमाणपत्र प्रदान गर्ने भएको छ।
आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिहान ११ बजे आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने जानकारी दिए। ‘बिहान ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित हुनुभएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय भएको छ,’ प्रवक्ता भट्टराईले भने।
समानुपातिकतर्फबाट प्रतिनिधिसभामा ११० सांसद निर्वाचित हुन्छन्। आयोगले राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा एमालेलाई १६, नेपाली कम्युनिस्ट पार्टीलाई ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ४–४ सांसद दिने निक्र्यौल गरिसकेको छ।
आयोगका प्रवक्ता भट्टराईले बिहान प्रमाणपत्र वितरण गरेपछि दिउँसो प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तय भएको जानकारी दिए। अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउने समय तय भएको छ।
आयोगले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएपछि साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरेर निर्वाचनसम्बन्धी सम्पूर्ण जानकारी दिने बताएको छ। गत फागुन २१ गते मुलुकभर प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो। आयोगले निर्वाचनसम्बन्धी नतिजा सार्वजनिक गरिसकेको छ।