सुदूर नेपाललाई विश्वसँग जोड्दै

सत्ता साझेदार एमाले असन्तुष्ट, मुख्यमन्त्री शाहमाथि प्रतिपक्षको दबाब बढ्दै

२०८२ चैत्र ६, १०:४७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि सत्ता साझेदार एमालेको असन्तुष्टि बढ्दै जाँदा प्रमुख प्रतिपक्ष नेकपाले समेत दबाब तीव्र बनाएको छ।

पछिल्लो एक महिनामा दुई पटक पत्रकार सम्मेलन गर्दै नेकपाका नेताहरूले शाह नेतृत्वको सरकार असफल भइसकेको आरोप लगाएका छन् र उनको राजीनामाको संकेत गरेका छन्।

यसैबीच वरिष्ठ वन अधिकृत कृष्ण भट्टले पाँच लाख रुपैयाँ घुस मागेको आरोप सार्वजनिक गरेपछि सरकारमाथि थप दबाब सिर्जना भएको छ। नेकपाका संसदीय दलका नेता खगराज भट्टले सरकारलाई जिम्मेवार बनाउन आफूहरू सक्रिय रहेको बताउँदै प्रदेश सरकार प्रभावकारी नभएको आरोप लगाए।

उनका अनुसार न त सदन सञ्चालन भइरहेको छ न त बजेट कार्यान्वयन प्रभावकारी रूपमा भएको छ, जसका कारण इतिहासमै सबैभन्दा कम बजेट खर्च भएको दाबी गरिएको छ।

एमाले संसदीय दलका सदस्यहरू पनि मुख्यमन्त्री शाहको कार्यशैलीप्रति सन्तुष्ट नरहेको विवरण सार्वजनिक हुन थालेका छन्। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नै निकटका नेताहरूसँग मुख्यमन्त्री शाहको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेको सामाचार सार्वजनिक भएका छन्।

यस्तै, प्रदेश सरकारले गरेका विभिन्न राजनीतिक नियुक्तिप्रति एमालेमा तीव्र असन्तुष्टि बढेको एक नेताले बताए। एमालेभित्र मुख्यमन्त्री शाह र संसदीय दलका नेता रावलको कार्यशैलीप्रति असन्तुष्टि बढेको समाचार प्रकाशित भएका छन्।

प्रमुख विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता खगराज भट्टले एमालेसँग मिलेर सरकार गठन गर्ने सम्भावना रहेको पनि संकेत गरेका छन्। केन्द्रमा काँग्रेस–एमाले गठबन्धन बनेपछि २० साउन ०८१ मा शाह मुख्यमन्त्री नियुक्त भएका थिए। उनी दोस्रो कार्यकाल सम्हालिरहेका छन्, यसअघि २६ माघ २०७९ मा पहिलोपटक मुख्यमन्त्री बनेका थिए।

हाल शाहलाई नेपाली काँग्रेसका १८ र एमालेका १० गरी २८ सांसदको समर्थन छ। पहिले समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीसहित नेकपामा विलय भइसकेको छ। नेकपा २० सांसदसहित प्रदेशसभाको सबैभन्दा ठूलो दल भए पनि अहिले प्रतिपक्षमा रहेको छ।

५३ सदस्यीय प्रदेशसभामा एक सिट स्वतन्त्र सांसद डाक्टर तारा जोशीको राजीनामापछि रिक्त रहेको छ भने एक जना राप्रपा सांसद छन्।

कमेन्ट लोड गर्नुस