सुर्नया गाउँपालिकामा पाँच महिनासम्म पनि सहमति कार्यान्वयन नभएपछि जेनजी युवाद्वारा ध्यानाकर्षण
बैतडी: बैतडीको सुर्नया गाउँपालिकामा यसअघि भएको ११ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै जेनजी समूहले फेरि दबाब बढाएको छ।
आइतबार जेनजी युवाहरुको समूहले गाउँपालिकालाई ज्ञापनपत्र बुझाउँदै पाँच महिनाअघि भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको हो। ३९ दिनसम्म चलेको तालाबन्दीपछि गएको कार्तिक ३० गते सहमति भई तालाबन्दी खुलेको थियो। सहमति हुँदा “तुरुन्त कार्यान्वयन” को प्रतिबद्धता जनाइए पनि व्यवहारमा भने त्यसको अनुभूति हुन नसकेको समूहको दाबी छ।
जेनजी समूहका अनुसार गाउँ कार्यपालिकाले पुस मसान्तपछि करार कर्मचारीको म्याद नथप्ने निर्णय गरे पनि पछि सो निर्णय उल्ट्याइएको छ, जुन सहमतिविपरीत रहेको उनीहरूको आरोप छ।
११ बुँदे सम्झौतामा बेरुजु तत्काल असुली, भू–उपयोग र वातावरण अतिक्रमण रोकथाम, मदिरा बिक्री–वितरण ऐन कडाइका साथ लागू, वडास्तरमा सामाजिक परीक्षण, जेनजेड आन्दोलनमा बैतडीबाट ज्यान गुमाएका परिवारलाई राहत, २०७४ सालदेखि सञ्चालित योजनाको स्वतन्त्र छानबीन, खेलकुद बजेट विनियोजन, माग गरिएका सूचना उपलब्ध गराउने, करार कर्मचारीको व्यवस्थापन र ठेक्कामार्फत सञ्चालित योजना समयमै सम्पन्न गर्नेलगायत विषय समेटिएका थिए।
सम्झौता कार्यान्वयनमा ढिलाइ भइरहेकाले फेरि ध्यानाकर्षण गराइएको जेनजी समूहका अगुवा विशाल भट्टले बताए। उनका अनुसार आगामी गाउँसभा अगावै सहमति कार्यान्वयन नभए पुनः आन्दोलनको बाटो रोज्न बाध्य हुने चेतावनीसमेत दिइएको छ।
स्थानीय तहमा गरिएको सहमति कति प्रभावकारी रूपमा लागू हुन्छ भन्ने प्रश्न फेरि उठेको छ, र अब सुर्नया गाउँपालिकाको कदमतर्फ सबैको ध्यान केन्द्रित भएको छ।