सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालको फागुन प्रतिवेदन: एक महिनामा हजारौँ बिरामीलाई सेवा

२०८२ चैत्र ९, ०५:३३ नारायण अवस्थी

धनगढीः धनगढीस्थित सेती प्रादेशिक अस्पतालले फागुन महिनामा प्रदान गरेको स्वास्थ्य सेवाको विवरण सार्वजनिक गरेको छ। सार्वजनिक प्रतिवेदनअनुसार अस्पतालले एक महिनामा ओपिडीदेखि आकस्मिक सेवा, सर्जरी, प्रसूति तथा विभिन्न परीक्षणमार्फत ठूलो संख्यामा बिरामीलाई सेवा दिएको छ।

अस्पतालबाट फागुन महिनाभर १६ हजार ६ सय ३४ जना बिरामीले बाह्य (ओपीडी) सेवा लिएका छन् भने २ हजार १३२ जनाले आकस्मिक सेवा प्राप्त गरेका छन्। त्यस्तै १ हजार २२४ जना बिरामी भर्ना (आईपीडी) भई उपचार गरिएका छन्।

यस्तै अस्पतालमा कुल ६७७ प्रसूति भएका छन्, जसमा ४०० सामान्य र २७७ शल्यक्रियामार्फत (सिजेरियन) गरिएको उल्लेख छ।

फागुन महिनामा ३९१ वटा शल्यक्रिया सम्पन्न भएका छन्। साथै ९८६ जनाले हेमोडायलाइसिस सेवा लिएका छन् भने ११० जना आईसीयूमा उपचाररत रहेका छन्।

अस्पतालले विभिन्न परीक्षण तथा निदान सेवा अन्तर्गत एमआरआई २३०, सिटी स्क्यान ५७६, एक्स–रे ४ हजार ४३०, ल्याब परीक्षण ८ हजार ६९४ र अल्ट्रासाउन्ड १ हजार ३६२ जनामा गरिएको छ। साथै ३४३ जनाले इको सेवा लिएका छन्।

खोप तथा मातृ–शिशु सेवा अन्तर्गत अस्पतालले ४०२ जनालाई खोप सेवा दिएको छ भने ३९८ गर्भवतीले एएनसी (गर्भ परीक्षण) सेवा लिएका छन्।

यसैगरी अस्पतालको फार्मेसीबाट २५ हजार ८५० जनालाई सेवा प्रदान गरिएको छ। त्यस्तै १ हजार ५६९ जनाले ईसीजी सेवा लिएका छन्। बीमा अन्तर्गत ८ हजार ५८८ जनाले सेवा पाएको अस्पतालले जनाएको छ।

यसरी सेती प्रादेशिक अस्पतालले फागुन महिनामा विविध स्वास्थ्य सेवा विस्तार गर्दै सुदूरपश्चिमका नागरिकलाई व्यापक उपचार सुविधा उपलब्ध गराएको देखिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस