नयाँ संसद भवन अपूरो, बहुउद्देश्यीय हलमै शपथ र प्रारम्भिक बैठक
काठमाडौं: संघीय संसद सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण र प्रारम्भिक बैठकका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ।
मंगलबार सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको प्रगति सम्बन्धी जानकारी दिँदै सचिवालयले प्रतिनिधिसभाको मुख्य भवन तयार नभएकाले बहुउद्देश्यीय हलमै शपथ र प्रारम्भिक बैठक सञ्चालन गरिने जनाएको हो।
संघीय संसदका प्रवक्ता एकराम गिरीका अनुसार बहुउद्देश्यीय हलमा सिट व्यवस्थापन, रोष्टम, सभामुखको आसन, महासचिव, सचिव तथा सचिवालयका कर्मचारी बस्ने स्थान लगायत आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको छ।
यस्तै, बहुउद्देश्यीय हल नजिकै रहेको नयाँ भवनमा कार्य व्यवस्था शाखा, कार्यव्यवस्था परामर्श समितिको हल तथा सभामुखको कार्यकक्षको पनि व्यवस्थापन गरिएको उनले जानकारी दिए।
नयाँ संसद भवनको निर्माण अवस्था हेर्दा शपथग्रहणपछि हुने प्रतिनिधिसभाको पहिलो अधिवेशनका बैठकहरू समेत बहुउद्देश्यीय हलमै सञ्चालन हुने सम्भावना रहेको प्रवक्ता गिरीले बताए।
उनले बहुउद्देश्यीय हलबाट बैठक सञ्चालन गर्दा विभिन्न जटिलता देखिन सक्ने भएकाले छिटोभन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको पनि उल्लेख गरे।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण यही चैत १२ गते बहुउद्देश्यीय हलमै हुने संसद सचिवालयले जनाएको छ।