सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पुल बनाउन ढुड्ड्गा बोक्न र गिट्टी कुट्न हर्क साम्पाङको आह्वान

२०८२ चैत्र १०, ०२:२३ नारायण अवस्थी

धनगढीः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको महाकाली पुल निर्माण गर्न तम्सिएका छन्। उनले महाकाली नदीमा पुल बनाउने भन्दै आफ्ना मानिसहरूलाई दार्चुला पठाएका छन्। हर्कले ढुङ्गा बोक्न र गिट्टी कुट्न फेसबुकबाटै आह्वान गरेका हुन्।

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरबाट राजीनामा दिएर सुनसरी-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राईले श्रमदानबाटै महाकाली नदीमा पुल निर्माण गर्ने घोषणा गरेका हुन्।

उनले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्, 'दार्चुलाको पुल बनाउँदा कुनै किसिमको राजनीतिक उद्देश्य राखेको छैन मैले! भोट नदिँदा पनि हुन्छ त्यस भेगकाहरुले; तर कसैले खुट्टा तान्ने र विरोध गर्ने नगर्नु होला! आउनुस् सङ्गै मिलेर ढुङ्गा बोकौँ, गिट्टी कुटौँ!'

हर्कले दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङमा पुल निर्माण गर्ने तयारी गरेका छन्। उक्त ठाउँमा पुल नहुँदा तुइन तर्नुपर्ने बाध्यता छ। तर भारतीय पक्षले पुल निर्माणका लागि अनुमति नदिँदा नेपाली पक्षले यसअघि पटक-पटक प्रयास गर्दा पनि पुल निर्माण हुन नसकेको दार्चुलाका स्थानीय चक्रबहादुर बमले बताए।

दार्चुलको लालीदेखि व्याँस गाउँपालिकाको सितापुलसम्म महाकाली नदीमा १० वटा झोलुङ्गे पुल तथा एक मोटरेवल पुल निर्माण भएको छ। जिल्ला सदरमुकाम महाकाली नगरपालिका-६ को काँकडामा भर्खरै मोटरेवल पुल निर्माण भएको हो। तर दुम्लिङमा पुल नहुँदा त्यहाँका स्थानीयले पुल तर्न ६ किलोमिटर तल माल भन्ने ठाउँ पुग्नुपर्ने बाध्यता छ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस