सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरले बिरामीलाई चाहिए जति रगत नि:शुल्क उपलब्ध गराउँदै

२०८२ चैत्र १५, ०४:१५ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिकाले आफ्ना नागरिकलाई बिरामी भएको अवस्थामा नि:शुल्क रगत प्रदान गर्दै आएको छ। उपमहानगरले बिरामीलाई आवश्यक पर्ने रगत नि:शुल्क उपलब्ध गराउँदै आएको जनाएको छ।

आइतबार पत्रकार सम्मेलन गरी नगरवासीलाई उपलब्ध गराउँदै आएको रगतको विवरण सार्वजनिक गरिएको हो।

उपमहानगरले आर्थिक वर्ष २०८१/८२ मा ४६० जना बिरामी तथा चालु आर्थिक वर्षको फागुनसम्म २१३ जना बिरामीसहित कुल ६७३ जनालाई नि:शुल्क रगत तथा रगतजन्य  पदार्थ उपलब्ध गराएको छ।

उपमहानगरले आर्थिक वर्ष २०८१/८२ मा एक हजार ५३० पिन्ट तथा चालु आर्थिक वर्षको फागुनसम्म थप ५८२ पिन्टसहित नागरिकलाई  कुल दुई हजार १२२ पिन्ट रगत तथा रगतजन्य पदार्थ नि:शुल्क उपलब्ध गराएको जनाएको छ।

गत आर्थिक वर्षमा सरकारी तथा निजी अस्पतालमा उपचार गरेका बिरामीलाई रगत उपलब्ध गराएकोमा यो वर्षबाट सरकारी अस्पतालमा प्रदेश सरकारले रगत उपलब्ध गराउने नीति लिएकाले निजी अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क रगत उपलब्ध गराइरहेको नगर प्रमुख गोपाल हमालले बताए।

उनले बिरामीलाई जतिसुकै रगत आवश्यक परे पनि नि:शुल्क उपलब्ध गराइरहेको बताए। उनले भने, 'गत आर्थिक वर्षमा एक जना बिरामीलाई ३३ पिन्ट रगत उपलब्ध गराइएको छ, जसका कारण बिरामीको करिब ३८ हजार बचत भएको छ।'

उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी रगत जनजाति समूहलाई आवश्यक परेको छ।  नि:शुल्क रगत लग्नेमा ४२४ जना जनजाति, १९५ जना ब्राह्मण/क्षेत्री, ४८ जना दलित, चार जना मधेसी तथा एक जना मुस्लिम र एक जना अन्यले नि:शुल्क रगत सेवा पाएका छन्।

उपमहानगरपालिकाले जीवन रक्षा गर्न आवश्यक रगत उपलब्ध गराए बापत नेपाल रेडक्रस धनगढी शाखालाई २४ लाख ४० हजार तीन सय रुपैयाँ भुक्तानी गरेको छ।

नागरिकको स्वास्थ उपचारमा सहयोग पुगोस् भनेर नि:शुल्क रगत उपलब्ध गराउन थालिएको नगर प्रमुख हमालले बताए। यस्तै, उपमहानगरपालिकाले नागरिकको स्वास्थ सेवामा पहुँच विस्तार गर्ने काम गरिरहेको उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन्

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस