‘पेपरलेस धनगढी’ अवधारणा अघि, सेवा अब घरबाटै उपलब्ध हुने
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले प्रशासनिक कामलाई छिटो, सहज र पारदर्शी बनाउन ‘पेपरलेस धनगढी’ अवधारणा अघि सारेको छ। यस अवधारणामार्फत सेवाग्राहीलाई सरल र प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य राखिएको उपमहानगरले जनाएको छ।
नगर प्रमुख गोपाल हमालले डिजिटल प्रणाली लागू भएपछि सेवाग्राहीले घरमै बसेर सेवा लिन सक्ने बताए। आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, डिजिटल प्रविधिले सेवा प्रवाहलाई अझ सहज र छिटो बनाउने विश्वास व्यक्त गरे।
पेपरलेस सेवाअन्तर्गत जन्मदर्ता, नागरिकता लगायत विभिन्न सिफारिस, दर्ता तथा नवीकरणजस्ता सेवाहरू क्रमशः अनलाइनमार्फत उपलब्ध गराउने तयारी भइरहेको सञ्चार तथा सूचना प्रविधि शाखा प्रमुख अनुप भट्टले जानकारी दिए।
उनका अनुसार स्थानीय तहका सेवा प्रणाली, सूचना र अभिलेखलाई एउटै प्लेटफर्ममा एकीकृत गर्दै ‘युडिजीपी’ नामक सूचना प्रविधि प्रणाली विकास भइरहेको छ।
भट्टका अनुसार पहिलो चरणको काम आगामी असारको पहिलो हप्तासम्म सम्पन्न गर्ने लक्ष्य छ। यस चरणमा नागरिक इ–केवाइसी, सिफारिस मोड्युल, फाइल ट्रयाकिङ मोड्युल लगायतका प्रणाली विकास गरिनेछ। त्यसपछि प्रणाली लागू गरिने र धेरै सेवाहरू अनलाइनबाट उपलब्ध हुनेछन्।
उनले भने, 'घर बसेर नै जन्मदर्ता, नागरिकता सहित विभिन्न सिफारिसहरु, दर्ता तथा नवीकरणजस्ता कागजात प्राप्त गर्न सकिनेछ,' उनले भने 'कुनै कागजात अपुग भएमा वा कुनै अन्य समस्या देखिएमा सेवाग्राहीको मोबाइलमा नोटिफिकेशन तथा म्योसज आउँछ र सोहीअनुसार सेवाग्राही अघि बढ्न सक्छन् । सो प्रणाली लागू भएमा सेवाग्राहीले मोबाइलमै आफ्नो कागजात प्राप्त गर्ने र हार्डकपी चाहिएमा मात्रै वडा वा पालिका आउनुपर्नेछ।'
यस प्रणालीमा गुनासो तथा सुझाव व्यवस्थापनको सुविधा पनि रहनेछ, जसमार्फत सेवाग्राहीले डिजिटल माध्यमबाटै आफ्नो समस्या राख्न सक्नेछन्।
उप–प्रमुख कन्दकला राना ले प्रणाली लागू भएपछि सेवाग्राहीको समय र खर्च दुवै बचत हुने बताइन्। साथै डिजिटल अभिलेखले सूचनाको सुरक्षा र व्यवस्थापनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिन्।
दोस्रो चरणमा इ–सिग्नेचर, डिजिटल अभिलेख व्यवस्थापन, गुनासो तथा सुझाव व्यवस्थापन, सार्वजनिक सूचना प्रणाली लगायतका थप मोड्युल विकास गरिने जनाइएको छ।