सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल पत्रकार महासङ्घ ७१औँ वर्षमा, प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामा जोड

२०८२ चैत्र १६, ०१:०४ खबर संवाददाता

काठमाडौँः नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासङ्घ आजदेखि स्थापनाको ७१औँ वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसका अवसरमा महासङ्घले प्रभातफेरी आयोजना गरेको छ।

महासङ्घकी अध्यक्ष निर्मला शर्माले देशभरका सञ्चारकर्मी र प्रेस स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना दिँदै महासङ्घले सात दशकदेखि अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि निरन्तर काम गर्दै आएको उल्लेख गरेकी छन्। उनले स्थापनाकालदेखि नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै प्रेस स्वतन्त्रताको आन्दोलनमा सहादत प्राप्त गर्ने पत्रकारहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्।

शुभकामना मन्तव्यमा महासङ्घले मानव अधिकारको रक्षा, सूचनाको हकको संरक्षण तथा जिम्मेवार पत्रकारितामार्फत लोकतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राखेको उल्लेख गरिएको छ। साथै, सूचना प्रविधिको विकाससँगै बढ्दै गएको मिथ्या सूचनालाई पत्रकारिताका लागि प्रमुख चुनौतीका रूपमा लिइएको जनाइएको छ।

प्रतिनिधिसभा निर्वाचनपछि बनेको दुईतिहाइको सरकारले राजनीतिक स्थिरता कायम गर्ने अपेक्षा व्यक्त गर्दै महासङ्घले रोकिएका सञ्चारसम्बन्धी कानुनहरू सरोकारवालासँग छलफलमा ल्याउन माग गरेको छ। ‘जेन्जी’ आन्दोलनका क्रममा प्रभावित सञ्चार गृह र घाइते पत्रकारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ।

राज्यका कुनै पनि निकायबाट प्रेस स्वतन्त्रता संकुचन गर्ने प्रयास भए कडा प्रतिवाद गर्ने चेतावनी दिँदै महासङ्घले सबै सञ्चारमाध्यम र श्रमजीवी पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने पहल अघि बढाएको जनाएको छ।

पत्रकारको भौतिक तथा पेशागत सुरक्षाका लागि अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय सुदृढ बनाउने प्रतिबद्धता जनाउँदै अध्यक्ष शर्माले जनतालाई सही सूचना उपलब्ध गराउने दायित्व पूरा गर्न सबै पत्रकारलाई सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेकी छन्।
 

कमेन्ट लोड गर्नुस