सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-६ को भैरव आधारभूत विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुने

२०८२ चैत्र १६, ०४:३४ नारायण अवस्थी

धनगढीः धनगढी-६ मटियारीमा रहेको भैरव आधारभूत विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुने भएको छ।

विद्यालयमा शैक्षिकसत्र २०८३ देखि अङ्ग्रेजी माध्यममा पढाइ हुने भएको हो। कक्षा ५ सम्म सञ्चालित विद्यालयमा नयाँ शैक्षिकसत्रबाट नर्सरीदेखि कक्षा ३ सम्म र अर्को वर्ष कक्षा ५ सम्म नै अङ्ग्रेजी माध्यम लागु गर्ने प्रधानाध्यापक बहादुर साउँदले बताए।

'हामीले नयाँ शैक्षिकसत्रबाट अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने निर्णय गरेका छौँ। विद्यालयमा सबै शिक्षक-शिक्षिका अङ्ग्रेजी माध्यममा पढाउन सक्षम हुनुहुन्छ,' उनले भने, 'सबै शिक्षक स्नातकोत्तर गरेका भएकाले कुनै समस्या छैन, हामीले निःशुल्क निजी विद्यालयकै स्तरको पढाइ गर्ने योजना बनाएका छौँ।'

सामुदायिक विद्यालयमा पढाइ नहुने भनाइलाई चिर्दै आफूहरूले गुणस्तरीय शिक्षाका लागि कटिबद्ध भएर लाग्ने अठोट लिएको प्रधानाध्यापक साउँदले बताए। 'हामी शुल्क नलिएरै निजी विद्यालयको भन्दा राम्रोसँग पढाउन र बालबालिकालाई अन्य सुविधा दिन सक्षम छौँ। बालबालिकाले प्रयाप्त खेलमैदान, दिवाखाजा, पुस्तकालय सेवा र अतिरिक्त क्रियाकलापमा समेत भाग लिन पाउँछन्,' उनले भने, 'नगरपालिका र वडाले पनि सहयोग गर्दै आएकाले हामीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न हौसला पनि मिलेको छ।'

एक बिघाभन्दा बढी क्षेत्रफलमा रहेको विद्यालयमा खेलमैदान, खानेपानी, शौचालय, पुस्तकालय, कम्प्युटर ल्याब लगायतका सुविधा छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राना थारुले विद्यालयमा पढाइको अवस्था सुधार गर्न र विद्यार्थी संख्या बढाउन व्यवस्थापन समिति सक्रिय भएर लागेको बताए। उनले कक्षा ५ सम्म पढ्ने विद्यार्थीका लागि भैरव आधारभूत विद्यालय नमुना विद्यालयकै रुपमा विकास गर्ने योजना रहेको बताए।

यस्तै, वडा अध्यक्ष भागीराम चौधरीले पनि विद्यालयलाई आवश्यक सहयोग गर्ने बताए। उनले वडा तथा नगरपालिकाले समेत विद्यालयमा आवश्यक सहयोग गर्दै आएको बताए। विद्यालयले अङ्ग्रेजी माध्यममा पठनपाठन गर्न थालेपछि विद्यार्थी संख्यासमेत पढ्ने वडा अध्यक्ष चौधरीले विश्वास गरेको बताए।

विद्यालयले अभिभाव भेला नै गरेर शैक्षिकसत्र २०८३ देखि विद्यालयमा अङ्ग्रेजी माध्यमद्वारा पठनपाठन गर्ने निर्णय गरेको प्रधानाध्यापक साउँदले बताए। उनले नर्सरीदेखि कक्षा ३ सम्म नयाँ शैक्षिक सत्र २०८३ मा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने मुख्य एजेण्डा पारित गरिएको बताए।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस