नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु
काठमाडौँ:गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो अधिवेशन भोलि (बिहीबार)देखि सुरु हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइ बहुमत प्राप्त गरेपछि सुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा महत्वका साथ हेरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन बिहीबार दिउँसो २ः०० बजेका लागि आह्वान गरिएको छ । प्रतिनिधिसभाको अधिवेशन सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा र राष्ट्रियसभाको बैठक सङ्घीय सचिवालयस्थित पुरानो भवनमा बस्नेछ । यो राष्ट्रियसभाको २०औँ अधिवेशन हो ।
विसं २०६४ मा ६०१ सदस्यीय संविधानसभा गठन भएपछि नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएको प्रतिनिधिसभा अधिवेशन १८ वर्षपछि सिंहदरबारस्थित संसद् भवनमा बस्न लागेको हो । विसं २०१५ को पहिलो आमनिर्वाचनपछि संसद् अधिवेशन सिंहदरबारस्थित पुरानो संसद् भवन (ग्यालरी बैठक)मा बस्दै आएको थियो ।
संविधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संसद् अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले चैत ५ गते निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो । निर्वाचनमार्फत जनताले रास्वपालाई स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन करिब दुई तिहाइ बहुमतसहितको जनादेश दिएका छन् ।
सङ्घीय संसद् सचिवालयले दुवै सदनको बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिका हिसाबले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतिनिधिसभामा सभामुखको आसनअगाडि दाहिनेतर्फ सत्तापक्ष, बीचमा सरकार र बायाँतर्फ प्रतिपक्ष रहने व्यवस्था मिलाइएको छ ।
उक्त व्यवस्थाअनुसार प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेताको आसन नजिकै रहनेछ । यसपटक संसद्मा सत्तापक्षमा मन्त्रिपरिषद्का सदस्य र रास्वपाका सांसद तथा प्रतिपक्षतर्फ एक स्वतन्त्रसहित ९३ सांसद रहनेछन् ।
सभामुख र उपसभामुख चयन मुख्य एजेन्डा
प्रतिनिधिसभाको पहिलो अधिवेशन भएकाले सभामुख र उपसभामुख चयन प्रमुख कार्यसूचीमा रहनेछ । पहिलो बैठक सुरु भएको मितिले १५ दिनभित्र सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
सभामुख र उपसभामुखमध्ये एक फरक दल र फरक लिङ्गको हुनुपर्ने प्रावधान छ । पहिलो बैठकमा ज्येष्ठ सदस्यले अध्यक्षता गर्दै सांसदलाई स्वागत गर्ने र अधिवेशनसम्बन्धी जानकारी दिने कार्यसूची रहेको छ ।
संसद् सचिवालयले सर्वदलीय बैठकमार्फत सभामुख तथा उपसभामुख चयनको कार्यतालिका तय गर्ने जनाएको छ । यस अधिवेशनमा सङ्घीय निजामती ऐन, प्रहरी ऐन, विद्यालय शिक्षालगायत महत्वपूर्ण विधेयक प्रस्तुत गरी पारित गर्नुपर्ने दायित्व रहेको छ ।
मन्त्रिपरिषद्ले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये ४५ दिनभित्र सङ्घीय निजामती विधेयक तर्जुमा गर्ने लक्ष्य राखिएको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक प्रणालीबाट निर्वाचित सदस्य छन् । प्रतिनिधिसभामा रास्वपाका १८२, नेपाली कांग्रेसका ३८, नेकपा (एमाले) का २५, नेकपा का १७, श्रम संस्कृति पार्टीका सात, राप्रपाका पाँच र एक स्वतन्त्र सांसद रहेका छन् ।
लैङ्गिक प्रतिनिधित्वका हिसाबले १७९ पुरुष र ९६ महिला सांसद छन् । हालको संसद्मा युवाको उल्लेख्य उपस्थिति रहेको छ ।
संविधानअनुसार अधिवेशन सुरु भएपछि राष्ट्रपतिले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था रहेको छ ।
संसद्को भूमिका
नेपालको संविधानले सङ्घीय संसद्लाई दुई सदनात्मक बनाएको छ, जसमा प्रतिनिधिसभा र राष्ट्रियसभा छन् । संसद्को मुख्य कार्य कानुन निर्माण, सरकार गठन, नीति तथा कार्यक्रम र बजेट पारित, संविधान संशोधन, सरकारको निगरानी तथा अन्तरराष्ट्रिय सन्धि अनुमोदन रहेको छ ।
प्रतिनिधिसभाअन्तर्गत हाल १० वटा विषयगत समिति रहेका छन् । संयुक्त रूपमा संसदीय सुनुवाइ तथा निर्देशनात्मक सिद्धान्तसम्बन्धी समिति पनि क्रियाशील छन् । नयाँ संसद्ले आवश्यकताअनुसार नियमावली संशोधन र समितिको संरचनामा परिवर्तन गर्न सक्नेछ ।