शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिङ्ग धाममा भोलि हनुमान जयन्ती मनाइने
धनगढीः सुदूरपश्चिमकै प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिङ्ग धाम मा भोलि बिहीबार हनुमान जयन्ती विशेष उत्सवका रूपमा मनाइने भएको छ।
धनगढी उपमहानगरपालिका–४ स्थित धाममा हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासका साथ मनाइँदै आएको छ। धार्मिक विश्वासअनुसार यही तिथिमा हनुमान को जन्म भएको मानिन्छ, जसका कारण हिन्दू धर्मावलम्बीहरूले यस दिनलाई विशेष रूपमा पूजा–आराधना गरी मनाउने गर्छन्।
धामका मूल पुजारी हरिनारायण भट्टका अनुसार हनुमानले आसुरी शक्तिमाथि विजय हासिल गरेको विश्वासले पनि भक्तजनहरूमा गहिरो आस्था रहेको छ। पूजा गर्दा रातो कपडा, फूल, चन्दन र चना चढाउने परम्परा रहेको छ।
उनले हनुमानको पूजा–आराधनाले शनि दशाको प्रभावसमेत कम हुने धार्मिक मान्यता रहेको बताउँदै यो पूजा फलदायी हुने उल्लेख गरे।
शिवपुरी धाममा हरेक वर्ष झैं यसपटक पनि हनुमान जयन्ती भव्य रूपमा मनाउन तयारी गरिएको छ। भोलि बिहान ८ बजेदेखि हवन सुरु हुने कार्यक्रम रहेको छ। प्रदेशभरिका भक्तजनहरूलाई पूजा कार्यक्रममा सहभागी हुन मन्दिर व्यवस्थापन समितिले अनुरोध गरेको छ।