सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको दुम्लिङमा हर्कराज साम्पाङकाे टिमद्वारा श्रमदानबाट झोलुङ्गे पुल निर्माण शुरू

२०८२ चैत्र २०, ०५:४४ खबर संवाददाता

दार्चुलाः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङको टिमले दार्चुलाको विकट बस्ती व्यास गाउँपालिका–२, दुम्लिङको काठा दुम्लिङमा श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गर्ने भएको छ ।

गत ११ गते गरिएको स्थलगत अनुमगन निरीक्षण (नापजाँच) पछि काठा दुम्लिङको मल्लो दुम्लिङखोलामा झोलुङ्गे पुल निर्माण गरिने इन्जिनियर डम्मर लिम्बूले जानकारी दिए। यहाँका स्थानीयले विगतदेखि नै प्रयोग गर्दै आइरहेको तुइन हटाएर महाकाली नदीमाथि नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गर्न प्राविधिक अध्ययन टोली आए पनि अन्तर्राष्ट्रिय सीमानाकामा संरचना निर्माण गर्न दुई देशको सहमति चाहिने भएपछि सो टोलीले स्थानीय काठा दुम्लिङमा पुल निर्माण गर्ने भएको हो ।

स्थानीयको मागका आधारमा तत्काल काठा दुम्लिङमा झोलुङ्गे पुल निर्माण गर्न लागत इस्टिमेटसहितको विस्तृत अध्ययन प्रतिवेदन बनाइएको उनले बताए।  बर्सातको समयमा खोला तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने गरेका कारण सो खोलामा पुल निर्माण गरिदिन प्राविधिक टोलीलाई आग्रह गरेको व्यास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडूले बताए।

काठा दुम्लिङमा पुल निर्माण गर्न प्रतिनिधि सभा सदस्य हर्कराज साम्पाङ नेतृत्वको टिम दार्चुला आएर चैत २४ गते पुलको शिलान्यास गर्ने योजना रहेको इन्जिनियर लिम्बूले बताए। पुल निर्माणका लागि आर्थिक सङ्कलन अभियान सञ्चालन गर्नुभएका प्रतिनिधि सभा सदस्य साम्पाङलाई देश तथा विदेशमा रहेका नेपालीले हालसम्म एक करोड १२ लाख रुपियाँ सहयोग गरेको टोलीमा रहेका महेन्द्र पुनले जानकारी दिए।

उनले १५ जना श्रमदातासहित प्रतिनिधि सभा सदस्य साम्पाङको टोली दार्चुला आउँदै गरेको बताए। उनले भने, ‘आउँदो असारसम्ममा पुल निर्माण गरिसक्ने लक्ष्य छ । पुलको लम्बाइ ८० मिटर रहेको छ ।’

राज्यको आँखा नपुगेको दुम्लिङमा प्रतिनिधि सभा सदस्य साम्पाङको अगुवाइमा पुल निर्माण हुने भएपछि यहाँका बासिन्दा खुसी छन् । स्थानीय प्रभात बुढाथोकीका अनुसार विद्यार्थी हिँड्ने, यार्चागुम्बा टिप्न जाने मूलबाटो तथा काठा दुम्लिङ, गोठान र कल्जु गाउँ जोड्ने गरी झोलुङ्गे पुल निर्माण हुन लागेको हो । पुल निर्माणमा आफूहरू श्रमदान गर्न तयार रहेको उनले बताए।

स्थानीय जानकी बुढाथोकीले गाउँमा विकासनिर्माणका काम हुनु सकारात्मक भएको बताइन्।  दुम्लिङगाउँमा भारतसँग जोड्ने पुल नहुँदा तुइनबाट खसेर हालसम्म ३६ जनाले ज्यान गुमाउनु परेको स्थानीय महेन्द्रसिंह बुढाथोकीले बताए।

(गाेरखापत्र)    
 

कमेन्ट लोड गर्नुस