धनगढीबाट चौखुट्टे आउँदै गरेको इभी डोटीमा दुर्घटना, चारजना घाइते
डोटी: डोटीको दिपायल सिलगढी नगरपालिका–५ चिसापानीमा शनिवार बिहान ईभी (इलेक्ट्रिक सवारी) दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।
धनगढीबाट अछाम (चौखुटे) तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२ ००१ ज ०२३९ नम्बरको ईभी बिहान करिब साढे ४ बजे दुर्घटनामा परेको हो। गाडीमा सवार १५ जनामध्ये ४ जनालाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घाइतेहरूको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको छ।
प्रहरीका अनुसार घाइते हुनेहरूमा पूर्वीचौकी गाउँपालिका–५ नुवाघरकी ५१ वर्षीया अमृता साउँद, सोही स्थानका २६ वर्षीय प्रकाश साउँद, चौरपाटी गाउँपालिका–६ दुनीकी २५ वर्षीया कला साउँद र चौरपाटी–१ बयालीकी १९ वर्षीया कमला थापा रहेका छन्। गाडी चालक अछाम चौरपाटी गाउँपालिका–१ सिउडी निवासी अन्दाजी ४५ वर्षीय शंकर शाह रहेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानाएको छ।