चार जना युवाले धनगढीमा एक व्यवसायीलाई निर्घात कुटपिट गरे!
धनगढी: चैत १६ गते सोमबार राति १:३५ बजे धनगढीका एक व्यवसायीमाथि निर्घात कुटपिट भएको खबर सार्वजनिक भएको छ। धनगढी-४, दक्षिणकाली मार्गस्थित ६ लेन सडकमा व्यवसायी विकास सिङ्घलमाथि कुटपिट भएको हो।
सिंघललाई उनकीश्रीमती डाक्टर अनिसा अग्रवाल र पाँच वर्षीया छोरीकै अगाडि चार जना युवाको समूहले मरणाशन्न हुने गरि कुटपिट गरिएको पीडित सिंघलका आफन्तले बताएका छन्। अबेर राति पारिवारिक जमघटबाट फर्किएका सिंघल आफ्नै घर अगाडिको पार्किङमा कुटिएका हुन्।
६ लेन सडकको पल्लो किनारमा हिँडिरहेका ती चारै जना युवाले बिनाकारण विकास सिंघलको करङ्ग र नाकको डाँडी भाँचिनुको साथै टाउको फुटेको र दाँत तथा अनुहारमा चोटपटक लागेको आफन्तले बताए। सिंघलको स्थानीय अस्पतालमा उपचार भइरहेको पारिवारिले जनाएको छ
सिङ्घलको घर अगाडिको पार्किङमा इभी हायस पार्किङ गरिएको र उक्त हायसको चालकलाई गाडी हटाउन बोलाउँदा रोडपारि पुरवार पेट्रोल पम्पतर्फ हिँडिरहेका चारैजना आएर निर्घात कुटपिट गरेको सिंघलकी पत्नी डाक्टर अनिसा अग्रवालले बताइन्।
उनीहरूले तीन पटकसम्म फर्केर निर्घात कुटपिट गरेको अग्रवालको दाबी छ।नपाँच वर्षीय छोरीको अगाडि श्रीमान् आफूमाथि कुटपिट भएको अनिसाले बताएकी छन्।
उनले घटना बारे कैलाली प्रहरीमा ठाडो निवेदन दिएको बताइन्। निवेदनकै आधारमा कुटपिटमा संलग्न एक युवा पक्राउ परेको भए पनि उनलाई प्रहरीले हाजिरी जमानीमा छोडेको छ।
कैलाली प्रहरी सहप्रवक्ता प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले पीडितको पक्षबाट किटानी जाहेरी नआएकाले पक्राउ परेका युवालाई हाजिरी जमानीमा छोड्नु परेको बताए। किटानी जाहेरी आयो भने घटनामा संलग्न भनिएका युवाहरूलाई पक्राउ गरेर आवश्यक कानुनी कारबाही गरिने प्रहरी निरीक्षक तिमिल्सिनाले बताए।
दिनेशखबरलाई प्राप्त सिसिटिभी फुटेजमा पनि चार जना युवाहरूले व्यवसायी सिंघललाई कुटपिट गरेको दृश्य देखिएको छ। उनीहरूले तीन पटकसम्म फर्केर कुटपिट गरेका छन्। कुटपिटपछि धनगढी चौराहा नजिकै रहेको एक होटेलमा उनीहरू पसेको फुटेजमा देखिएको छ।