सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा शैक्षिक सत्रअघि नै पाठ्यपुस्तक वितरण

शैक्षिक सत्र सुरु हुनअघि बाजुरामा पुगेको पाठ्यपुस्तक। तस्बिर : शेरबहादुर सार्की
शैक्षिक सत्र सुरु हुनअघि बाजुरामा पुगेको पाठ्यपुस्तक। तस्बिर : शेरबहादुर सार्की
२०८२ चैत्र २१, ०४:१९ खबर संवाददाता

बाजुराः शैक्षिक सत्र सुरु हुनअघि नै बाजुरामा पाठ्यपुस्तक पुगेको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेश र जनकशिक्षा सामग्री केन्द्र, धनगढीले चैत ११ गते बसेको संयुक्त बैठकले चैत १६ देखि पाठ्यपुस्तक वितरण सुरु गर्ने निर्णय गरेसँगै जिल्लामा किताबहरू पुगेका हुन्।

करुण पुस्तक पसल, मार्तडीका प्रोपर्टाइटर नृपबहादुर खातीले चैत १६ गते धनगढीबाट किताब उठाएर चैत १७ गते बाजुरामा पु¥याइसकेको बताए। अहिले ती किताब धमाधम विद्यालयहरूमा वितरण भइरहेका छन्। 

गत वर्ष झैं यस वर्ष पनि उनले २१ हजार ८२५ थान किताब बाजुरामा ल्याएर वितरण गरिरहेका छन्। विगतका केही वर्षमा यहाँ किताब ढिला पुग्ने गरेको भए पनि, गत वर्षदेखि शैक्षिक सत्र सुरु हुन अघि नै किताब वितरण हुने गरेको छ। यसका कारण यहाँका बालबालिकाहरू समेत खुसी भएका छन्।

यस वर्ष बाजुराका आठ वटा पुस्तक विक्रेतामार्फत किताब वितरण गरिएको छ। यसमा प्रविन एण्ड ललित स्टेशनरी पसलले २४ हजार ४१०, करुण पुस्तक पसलले २१ हजार ८२५, सृजना स्टेशनरीले छ हजार ६०, आरके स्टेशनरीले पाँच हजार ४१४, मष्टा मल्टी स्टेशनरीले चार हजार ४७, बैष्णवीले आठ हजार २३७, रारा पुस्तक पसलले १३ हजार ९२१ र निशान्त जनरल स्टोरले ८ हजार ४७६ थान किताब वितरण गरेका छन्।

जनकशिक्षा सामाग्री केन्द्र, धनगढीका सूचना अधिकारी जितेन्द्र चौधरीका अनुसार यस वर्ष बाजुरामा जम्मा ९२ हजार ३९० थान किताब वितरण गरिएको छ। उनले भने ‘गत शैक्षिक सत्र २०८२ मा सबैभन्दा पहिलो बाजुरालाई किताब वितरणको पालो परेको थियो। सत्र २०८३ मा पनि बाजुरा र दार्चुलालाई पहिलो चरणमा किताब वितरण गरिएको छ।’

चैत १६–१८ गते बाजुरा र दार्चुला, १९–२१ गते बझाङ र अछाम, २२–२४ गते बैतडी–डोटी, २५ गते डडेल्धुरा, २६–२७ गते कञ्चनपुर, र २८–३० गते कैलालीलाई क्रमशः वितरण गरिएको उनले बताए। 

गत वर्ष सुदूरपश्चिममा २१ करोड ९२ लाख ७३ हजार ४९४ रुपैयाँको लागतमा १६ लाख २९ हजार २६३ थान किताब वितरण गरिएको थियो। यस वर्ष भने कक्षा ४ बाहेक अन्य सबै कक्षाका किताब वितरण भइरहेको जनकशिक्षा केन्द्रले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस