राष्ट्रिय सभाको उपाध्यक्षमा लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित
काठमाडौँ: राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध रूपमा निर्वाचित भएकी छन्। राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सोमबार बसेको बैठकमा भण्डारीको मात्रै उम्मेदवारी परेको जानकारी दिँदै उनलाई औपचारिक रूपमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
उपाध्यक्ष पदका लागि आइतबार तोकिएको मनोनयन दर्ता अवधिमा भण्डारी एक्लै उम्मेदवार बनेकी थिइन्। उनको प्रस्तावक नेकपा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल रहेका थिए।
उनको उम्मेदवारीलाई नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरी तथा नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाहले समर्थन गरेका थिए।