सुदूरपश्चिममा चिकित्सा शिक्षाको नयाँ युग: आगामी शैक्षिक सत्रदेखि पढाइ सुरु हुने
धनगढी: सुदूरपश्चिम प्रदेशका लागि बहुप्रतीक्षित स्वास्थ्य शिक्षा केन्द्रका रूपमा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अब औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। कैलालीको गेटामा अवस्थित यस विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि नै चिकित्सा शिक्षाको पठनपाठन सुरु गरिने निर्णय गरिएको छ।
विश्वविद्यालय सभाको चौथो बैठकले चार वटा सङ्कायमा अध्ययन–अध्यापन सुरु गर्ने निर्णय गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले विश्वविद्यालय सञ्चालनसँगै विद्यार्थी भर्ना कोटा पनि निर्धारण गरेको छ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुनिलकुमार जोशीका अनुसार आगामी शैक्षिक सत्रदेखि कक्षाहरू औपचारिक रूपमा सञ्चालन गरिनेछन्। निर्णयअनुसार ५० जना एमबिबिएस, ३० जना बीएस्सी नर्सिङ, २० जना बीएमएलटी र २० जना अप्टोमेट्रीतर्फ विद्यार्थी भर्ना गरिनेछ। साथै ३०० शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने तयारी पनि अघि बढाइएको छ।
सरकारले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गरिसकेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ। आर्थिक वर्ष २०८२/८३ को जेठ–असारका लागि चिकित्सकहरूको तलबबापत ५ करोड रुपैयाँ बजेट उपलब्ध गराइएको छ भने आगामी वर्षका लागि २ अर्ब ५३ करोड रुपैयाँ बजेट माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरिएको छ।
आजको सिनेट बैठकले विश्वविद्यालय सभामा दुई महिला र दुई पुरुष सदस्य मनोनयन गरेको भए पनि उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन। यसअघि विश्वविद्यालयका तीन वटा बैठक काठमाडौंमा बसेका थिए भने पहिलो पटक गेटामै बैठक सम्पन्न भएको हो।
कानुनी व्यवस्थाअनुसार विश्वविद्यालयको सर्वोच्च निकायका रूपमा सभा गठन गरिएको छ, जसको अध्यक्ष शिक्षामन्त्री रहने प्रावधान छ। सभामा स्वास्थ्यमन्त्री, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, उपकुलपति तथा गोदावरी नगरपालिकाका प्रमुख सदस्य रहने व्यवस्था छ। साथै अन्य विश्वविद्यालयका एक उपकुलपति सदस्य रहने प्रावधानअनुसार सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हेमराज पन्तलाई यसअघि नै मनोनयन गरिएको थियो।
गोदावरी नगरपालिका–५ मा करिब ५१ हेक्टर क्षेत्रफलमा फैलिएको विश्वविद्यालयमा हालसम्म नेपाल सरकारले ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ। ४२ वटा भवन निर्माण सम्पन्न भइसकेका छन्। २०८० माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेको थियो।
शिक्षामन्त्री सस्मित पोखरेलले आवश्यक बजेट सुनिश्चित भइसकेकाले आगामी शैक्षिक सत्रदेखि जसरी पनि पठनपाठन सुरु हुने स्पष्ट पारे। उनले यो परियोजना देशकै गौरवको योजना भएकाले कुनै पनि हालतमा कार्यान्वयनमा लैजाने बताए।
कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य डा. आनन्द चन्दले विश्वविद्यालय सञ्चालनमा कुनै शंका नरहेको उल्लेख गर्दै यसले सुदूरपश्चिममा शिक्षा र स्वास्थ्य सेवामा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउनु सुदूरपश्चिमका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। यसले क्षेत्रमै गुणस्तरीय चिकित्सा शिक्षा उपलब्ध गराउनुका साथै स्वास्थ्य सेवाको विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै, उच्च शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता कम भई क्षेत्रीय विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।