सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘भ्रामक प्रचारको भ्रममा नपर्न’ देउवाको अपिल

२०८२ चैत्र २५, ०८:२४ खबर संवाददाता

धनगढीः आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने विषय सञ्चारमाध्यममार्फत थाहा पाएको जनाउँदै सम्बन्धित व्यक्तिले उक्त आरोपलाई अस्वीकार गरेका छन्।

उनले आफ्नो र परिवारको सम्पत्तिसम्बन्धी विषयमा भ्रामक तथा झुटा प्रचारबाजी भइरहेको दाबी गर्दै त्यसप्रति आपत्ति जनाएका छन्। नेपालको प्रचलित कानुनअनुसार सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरिएको पनि उनले स्पष्ट पारे।

देशमा लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शीतासहितका मान्यताका लागि आफूले जीवनभर संघर्ष गरेको उल्लेख गर्दै उनले आफ्नो जीवन ‘खुला पुस्तक’ जस्तै रहेको बताए।

भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासन कायम गर्ने उद्देश्यले आफू गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन ल्याइएको र प्रधानमन्त्री भएका बेला २०५९ सालमा भ्रष्टाचार निवारण ऐन लागू गरिएको तथ्य पनि उनले स्मरण गराएका छन्।

हाल स्वास्थ्य उपचारका लागि आफूहरू विदेशमा रहेको र उपचार जारी रहेको जानकारी दिँदै उनले वास्तविकता समयक्रमसँगै सार्वजनिक हुने बताए। साथै, अतिरञ्जित विवरणका आधारमा भ्रममा नपर्न सर्वसाधारणलाई अपिल गरेका छन्।

कमेन्ट लोड गर्नुस