सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमलाई बालविवाहमुक्त बनाउने अभियान तीव्र, प्रदेशसभामा अनुरोध पत्र पेश

२०८२ चैत्र २५, ०९:१८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशलाई बालविवाहमुक्त प्रदेश बनाउने उद्देश्यसहित नागरिक समाजका संस्थाहरूले संयुक्त पहल अघि बढाएका छन्। बालबालिका तथा युवाको अधिकार स्थापनामा सक्रिय विभिन्न संस्थाका प्रतिनिधिहरूले सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकलाई बालविवाह न्यूनीकरण तथा अन्त्यका लागि तयार गरिएको विस्तृत अनुरोध पत्र हस्तान्तरण गरेका छन्।

उक्त कार्यक्रममा जिएनबी नेपालका अध्यक्ष प्रकाश खतिवडा, युवालयका कोषाध्यक्ष कृष्ण तामाङ, भिजनरी भ्वाइस नेपालका कार्यकारी सचिव सन्तोष महर्जन, सामाजिक विकासका लागि सचेत समाजका क्रिम चौधरी, जिएनबी ग्लोबलकी सृष्टि कोलक्ष्यपती तथा जिएनबी नेपालकी ईलावती केशी लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले नागरिक समाज र प्रदेश तहबीच सहकार्य सुदृढ बनाउँदै बालविवाह अन्त्यका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

अनुरोध पत्र ग्रहण गर्दै सभापति पाठकले सुदूरपश्चिमलाई बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित आवश्यक नीति निर्माण र कार्ययोजनाअनुसार प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। साथै सामाजिक विकास मन्त्रालयसँग सहकार्य गर्दै बालविवाह विरुद्ध सशक्त अभियान सञ्चालन गरिने जानकारी दिए।

यसैबीच, टोलीले सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीसँग समेत छलफल गरेको थियो। छलफलका क्रममा बालविवाह अन्त्यका लागि मन्त्रालयका प्रयास, प्रादेशिक रणनीति तथा कार्ययोजना निर्माणमा सहकार्य गर्ने विषयमा सहमति भएको जनाइएको छ।

संयुक्त पहललाई बालअधिकार, लैंगिक न्याय र सामाजिक रूपान्तरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिँदै जिएनबी नेपालका अध्यक्ष खतिवडाले अब बालमैत्री तथा न्यायपूर्ण समाज निर्माणतर्फ ठोस कार्यान्वयनको खाँचो औंल्याएका छन्।

कमेन्ट लोड गर्नुस