सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडामा सरसफाइ 

२०८२ चैत्र २८, ०१:४७ खबर संवाददाता

धनगढीः कञ्चनपुरको वेदकोट नगरपालिका, सुडामा रहेको घटाल बहुमुखी क्याम्पस अन्तर्गतको जिएमसी सोसल वेलफेयर क्लबले सरसफाइ अभियान अन्तर्गत सुडा बजारमा सरसफाइ गरेको छ। शनिवार वेदकोट नगरपालिका–७, सुडा बजार क्षेत्रमा सरसफाइ गरिएको हो।

क्लबका अध्यक्ष अमृत कुमार जोशीको नेतृत्वमा सञ्चालन गरिएको उक्त अभियानमा क्याम्पस अध्यक्ष नारायणदत्त बोहरा, क्याम्पस प्रमुख देवदत्त पन्त, शिक्षकहरू देवराज पनेरु, भास्कर भट्ट, भरतसिंह साउँदसहित क्लबका सदस्यहरू, बिबिएस प्रथम, द्वितीय तथा तृतीय वर्षका विद्यार्थीहरू र स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका अवसरमा क्याम्पस प्रमुख देवदत्त पन्तले यस्ता सामाजिक गतिविधिहरूले बेदकोट क्षेत्रको शैक्षिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै क्याम्पसले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।

क्लबले प्रत्येक शनिबार विभिन्न सामाजिक तथा सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस्ता गतिविधिहरूले क्याम्पस र समुदायबीचको सम्बन्ध मजबुत बनाउने, सामाजिक चेतना अभिवृद्धि गर्ने तथा विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने कार्यमा टेवा पुर्‍याइरहेका छन्।

यस प्रकारका अभियानहरूले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै स्वच्छ, सभ्य र जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस