सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी शल्यक्रिया सफल

२०८२ चैत्र ३०, ०१:१० खबर संवाददाता

काठमाडौं:काठमाडौंमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। ओलीको सचिवालयका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको शल्यक्रिया सफल भएको हो।

चैत्र १४ गते गुण्डुस्थित निवासबाट प्रहरीले ओलीलाई पक्राउ गरेको थियो। स्वास्थ्य समस्या देखिएपछि सोही दिन उनलाई उपचारका लागि टिचिङ अस्पताल भर्ना गरिएको थियो।

ओली पक्राउ परेपछि उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले अनुसन्धानको म्याद सकिएपछि ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतबाट मुक्त गर्न आदेश दिएको थियो।

अदालतको आदेशअनुसार दुवैजना हाजिर जमानीमा रिहा भए पनि स्वास्थ्य अवस्था कमजोर भएका कारण ओली भने अस्पतालमै उपचाररत रहेका थिए।

जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले ओली र लेखकविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
 

कमेन्ट लोड गर्नुस