अमेरिकी सैनिकलाई कारबाही गर्न राष्ट्रसङ्घलाई इरानको आग्रह
संयुक्त राष्ट्रका लागि इरानी राजदूत अमिर सइद इरवानीले अमेरिकी सैनिकले इरानी सार्वभौमसत्ताको उल्लङ्घन गरेको भन्दै संयुक्त राष्ट्रसङ्घलाई अमेरिकी सैनिकमाथि कारबाही गर्न आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र सुरक्षा परिषद्का अध्यक्षलाई पठाएको पत्रमा इरवानीले अमेरिकाको कदमलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खतरा पार्ने आक्रामक कार्य भन्दै निन्दा गरेका छन् । सैनिक नाकाबन्दी लागू गर्नु इस्लामिक गणतन्त्र इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको घोर उल्लङ्घन भएको उनले बताएका छन् । गत अप्रिल–१२ मा युएस सेन्ट्रल कमान्ड (सेन्टकम)ले सार्वजनिक रूपमा सैनिक आतंकवादको घोषणा गरेको उल्लेख गरिएको छ ।
उनले अमेरिकाले संयुक्त राष्ट्रको बडापत्रको धारा–२, अनुच्छेद ४ को उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
उनले अवैध नाकाबन्दीले समुद्रसम्बन्धी अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको बताएका छन् । इरानी बन्दरगाहहरूमा आउने–जाने समुद्री यातायात रोक्ने प्रयासले अमेरिकाले इरानको सार्वभौम अधिकारमा हस्तक्षेप गरेको र तेस्रो देशहरूको अधिकार तथा वैध समुद्री व्यापारमा असर पारेको पत्रमा उल्लेख गरिएको छ ।
इरानले अमेरिकाको उक्त कार्यलाई अस्वीकार र निन्दा गर्दै आफ्नो सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राष्ट्रिय हितको रक्षा गर्न आवश्यक कदम चाल्ने “अन्तर्निहित अधिकार” राख्ने जनाएको छ ।
उनले अमेरिकाले गैरजिम्मेवारपूर्ण कार्यका साथै त्यसका क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रभावहरूको पूर्ण जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् ।
तत्काल अन्तर्राष्ट्रिय हस्तक्षेपको आह्वान गर्दै इरानी दूतले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई नाकाबन्दीको निन्दा गर्न र तनाव रोक्न आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।
इरवानीले संयुक्त राष्ट्रसङ्घलाई सम्बोधन गर्दै लेखेको पत्रमा इरानविरुद्ध अमेरिकाले निरन्तर अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरिरहेको विषय उठाएका छन् ।
यसैबीच अमेरिकी सेनाले हाल मध्यपूर्वमा कम्तीमा १५ वटा लडाकु जहाज तैनाथ गरेको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि इरानका बन्दरगाहहरूमा सम्भावित नौसैनिक नाकाबन्दीमा सहभागी हुन सक्ने अधिकारीलाई उद्धृत गर्दै सिएनएनले रिपोर्ट गरेको छ ।
यसअघि पाकिस्तानमा भएको वार्तामा सहमति नजुटेपछि अमेरिकी राष्ट्रपतिले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाएको जनाइएको छ ।