मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
कञ्चनपुर: कञ्चनपुरमा महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन्।
वैशाख १ गते (आज) बिहान करिब ११:२० बजेको समयमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाघाटस्थित महाकाली नदीमा शुक्लाफाँटा नगरपालिका–७ कालागौडीका ४५ वर्षीय प्रकाश सिंह डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ।
सिंह कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–७ कालागौडी निवासी धना भट्टको मलामीमा सहभागी भई महाकाली नदीमा नुहाउने क्रममा डुबेर हराएका थिए। घटनाबारे बिहान ११:३० बजे इलाका प्रहरी कार्यालय गड्डाचौकीमा खबर प्राप्त भएको प्रहरीले जनाएकाे छ।
खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी सहायक निरीक्षक कर्णबहादुर कार्कीको कमाण्डमा ५ जनाको टोली, प्रहरी चौकी झोलुङ्गेबाट प्रहरी सहायक निरीक्षक नमराज भट्टको कमाण्डमा ३ जना तथा अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट प्रहरी वरिष्ठ हवल्दार नरेन्द्र बिष्टको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिएको थियो।
प्रहरी टोली बिहान ११:३५ बजे घटनास्थलमा पुगेको र हाल बेपत्ता व्यक्तिको खोजीकार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट करिब ३ किलोमिटर दक्षिणतर्फ पर्दछ।
प्रहरीले स्थानीयवासीसँग समन्वय गर्दै महाकाली नदी आसपासको क्षेत्रमा खोजी गरिरहेकाे जनाएको छ।