देशभर दोस्रो आर्थिक गणना सुरु, असार पहिलो साताभित्र तथ्याङ्क संकलन सम्पन्न हुने
धनगढीः देशभर आजदेखि दोस्रो आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गणनाका लागि खटिएका गणक तथा सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा पुगिसकेका छन्। कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यस अभियानका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ। अर्थ मन्त्रालयले औद्योगिक तथा आर्थिक क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तथ्याङ्क संकलन हुने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेको छ। गणनामा उद्योग, व्यापार, सेवा, सहकारी, निजी तथा सार्वजनिक संस्थासहित १८ वटा आर्थिक क्षेत्रका आधारभूत विवरणहरू—जस्तै संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाह—संकलन गरिनेछ।
यस क्रममा दर्ता भएका वा नभएका साना–ठूला व्यवसाय, रोजगारी सिर्जना गर्ने प्रतिष्ठान, स्वरोजगारमा आधारित उद्यम, उद्योग, कलकारखाना, गैरसरकारी संस्था, सरकारी निकाय, विद्यालय तथा अस्पतालसमेतको विवरण संकलन गरिनेछ।
आर्थिक गणनाको पूर्वतयारी अन्तर्गतका कामहरू गत फागुन मसान्तमै सम्पन्न भइसकेका छन्। चैतको सुरुवातमा ७७ जिल्ला र थप सात स्थानमा गरी ८४ वटा कार्यालय स्थापना गरिएको छ, जसले असार मसान्तसम्म काम गर्नेछन्।
यसअघि २०७५ सालमा गरिएको राष्ट्रिय आर्थिक गणनामा देशभर नौ लाख २३ हजार ३५६ व्यवसाय सञ्चालनमा रहेको तथ्य सार्वजनिक भएको थियो।