प्रतिनिधिसभाका १२ समितिका प्रस्तावित सभापतिको नाम टुङ्गो लाग्यो
काठमाडौँः प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत र २ संयुक्त समितिका सभापतिहरूको टुंगो लागेको छ। बिहीबार दिउँसो सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले सबै १२ वटा समितिका सभापतिहरू चयन गरेको हो।
यसअघि नै समितिका सदस्यहरू तय भइसकेका थिए। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा १६ वटा विषयगत समिति रहेका छन् भने राष्ट्रिय सभामा चार वटा समिति छन्, जुन पहिले नै गठन भइसकेका छन्।
टुंगिएका सभापतिहरूमा कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी रहेका छन्।
त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन, संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ र उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी चयन भएका छन्।
राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्की, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्नीमा उदास र अर्थ समितिमा कृष्णहरि बुढाथोकी चयन भएका छन् भने सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको नेतृत्वमा रहने भएको छ।