बुटवलमा फुटपाथ अतिक्रमण हटाउन डोजर अभियान, व्यवसायीको वैकल्पिक स्थान माग
बुटवल: बुटवल उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको छ। उपमहानगरपालिकाले तीन दिनसम्म माइकिङ गर्दै व्यवसायीहरूलाई स्वेच्छिक रूपमा फुटपाथ खाली गर्न आग्रह गरेको थियो। तर आग्रह बेवास्ता गरिएपछि डोजर प्रयोग गरेर अतिक्रमण हटाउने कार्य अघि बढाइएको हो।
अभियानअन्तर्गत बसपार्क, अस्पताल लाइन र ट्राफिकचोक क्षेत्रमा रहेका फुटपाथ अतिक्रमण हटाइएको छ। निर्देशनको अवज्ञा गर्दै व्यापार जारी राख्ने केही व्यवसायीका सामानसमेत जफत गरिएको उपमहानगरपालिकाले जनाएको छ।
नगरप्रमुख खेलराज पाण्डेयका अनुसार बुटवललाई सफा, सुरक्षित र व्यवस्थित शहर बनाउने उद्देश्यले यो कदम चालिएको हो। फुटपाथ खाली गरिएपछि पैदलयात्रीलाई सहज आवागमन भएको छ भने सवारी चाप व्यवस्थापनमा पनि सुधार आएको बताइएको छ। यसले दुर्घटना न्यूनीकरण, ट्राफिक जाम नियन्त्रण र सार्वजनिक स्थानको प्रभावकारी उपयोगमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
साथै, शहरको सौन्दर्य बढ्ने, पर्यटक आकर्षणमा वृद्धि हुने र दीर्घकालमा व्यवस्थित व्यापारिक वातावरण निर्माण हुने विश्वास उपमहानगरपालिकाले व्यक्त गरेको छ। तर फुटपाथ व्यवसायीहरूले भने आफूहरूका लागि वैकल्पिक स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।