कैलालीमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने एक जना कारागार चलान, अन्यको खोजी जारी
धनगढीः कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी गुल्मभित्र प्रवेश गरी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदीप पौडेलसहितमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका एक जनालाई कारागार चलान गरिएको छ।
जिल्ला अदालत कैलालीले बिहीबार भएको थुनछेक बहसपछि टीकापुर नगरपालिका–९ का ४० वर्षीय रामबहादुर साउँदलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो। अदालतको आदेशलगत्तै उनलाई सोही दिन कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार प्रदीप पौडेलले साउँदसहितका व्यक्तिविरुद्ध अपराधिक उपद्रव मुद्दा दर्ता गराएका थिए। सोही घटनामा साउँदसँगै अन्य पाँच जनाविरुद्ध पनि किटानी जाहेरी परेको छ।
घटनामा संलग्न रहेको आरोपमा टीकापुरकै नयन साउँद, सर्पराज साउँद, सुरेश खड्का, रमेश खड्का तथा भारतको लखिमपुरखिरी निवासी रशिद आलिखान फरार रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी खक्रौला गुल्मले जिएसटी बिल तथा भारतीय भन्सार पास भएका सामान जफत गरेपछि विवाद सुरु भएको बताइएको छ। त्यसपछि आपत्ति जनाउँदै टीकापुर उद्योग वाणिज्य संघको टोली व्यवसायीहरूसहित छलफलका लागि गुल्म पुगेका बेला डिएसपीसहितका सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो।
घटनापछि सशस्त्र प्रहरीले बिलबिजक परीक्षण गर्दा कागजात सही भेटिएपछि उद्योग वाणिज्य संघमार्फत सम्बन्धित व्यवसायीलाई सामान फिर्ता गरिएको थियो।
उक्त घटनाका क्रममा ड्युटीमा रहेका डिएसपीसहितका सशस्त्र प्रहरीलाई मुख्यालय तानेर छानबिन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।