बैतडीमा दुई मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका जनकको मृत्यु
बैतडीः बैतडीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो साढे १ बजे बैतडीको पुर्चौडी–ढोल्यामोड सडकखण्ड अन्तर्गत सुर्नया गाउँपालिका–८ ढोल्यामोडमा भएको दुर्घटनामा सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारको मृत्यु भएको हो । गम्भीर घाइते अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र देउलेक पठाइएका लुहारको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनामा पुर्चौडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१३ प ४२४६ नम्बरको मोटरसाइकल र पुर्चौडीबाट ढोल्यामोडतर्फ आउँदै गरेको से ५ प ४७१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा अमिर कठायत, पछाडि सवार हिक्मत कुँवर, सिगास गाउँपालिका–८ का ३४ वर्षीय जयबहादुर चन्द र सिगास गाउँपालिका–९ का २६ वर्षीय केशवबहादुर चन्द घाइते भएका छन् । अमिर कठायत र हिक्मत कुँवरलाई डडेल्धुरा अस्पताल रेफर गरिएको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।