अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपाल आउँदै
काठमाडौँः भारतका विदेश सचिव बिक्रम मिस्री नेपाल आउने तयारी भइरहेको बेला अमेरिकी सहायक विदेशमन्त्री एस. पावल कपुर तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी सोमवार औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन्। जेनजी आन्दोलनपछि गठन भएको वर्तमान सरकारको यो अवधिमा अहिलेसम्मको उच्चस्तरीय भ्रमण रहेको मानिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका खास मान्छेको रूपमा चिनिएका कपुर दक्षिण तथा मध्य एसिया पनि हेर्ने गरेका छन्।
राष्ट्रपति ट्रम्पले तत्कालीन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई हटाएर २०८१ फागुनमा कपुरलाई नियुक्त गरेका थिए। उनी नियुक्त भएपछि भारतीय मूलका भनी निकै चर्चा भएको थियो। उनको जन्म भारतमा भएको हो। बुवा भारतीय हुन् भने आमा अमेरिकी मूलका हुन्। तत्कालीन सहायक विदेशमन्त्री डोनाल्ड लु आफ्नो कार्यकालमा चार पटक नेपाल भ्रमण गरिसकेका थिए। नेपालमा एमसीसी लागु गराउनमा उनको ठुलो भूमिका रहेको चर्चा हुने गरेको छ। उनी तत्कालीन अवस्थामा नेपाल आएर उच्च स्तरीय भेटघाट गरेपछि संसदबाट एमसीसी पारित भएको थियो।
अहिले सहायक विदेशमन्त्री कपुर नेपाल भ्रमण आउन लागेकोमा त्यसलाई अर्थपूर्ण रूपमा लिएको छ। अमेरिकाको राष्ट्रिय सुरक्षा मामिला विभागका प्राध्यापक पनि रहिसकेका कपूरले राष्ट्रपति ट्रम्पको अघिल्लो कार्यकालको अन्तिम वर्षमा विदेश विभागको नीति योजना टोलीमा सन् २०२०–२१ सम्म पनि काम गरेका थिए। जहाँ उसलाई दक्षिण एसियाली मामिला हेर्ने जिम्मेवारी दिएको थियो। अमेरिकी नाभल पोस्ट ग्राजुएट स्कुलका प्रध्यापक समेत रही सकेका कपूरलाई पाकिस्तानको कट्टर आलोचक रूपमा विश्लेषण गरिएको थियो तर पछिल्लो समय इरान र अमेरिकाबिच वार्ता गराउनमा पाकिस्तानले गरेको मध्यस्थतामा सहायक विदेशमन्त्री कपुरको भूमिकाको पनि चर्चा हुने गरेको छ।
विदेश विभागको कर्मचारी रहेकै समयमा उनले दक्षिण एसियाली सुरक्षा, आणविक रणनीति, तथा अन्तर्राष्ट्रिय सम्बन्धका विशेषज्ञ मानिन्छन्। उनले विशेषगरी भारत–पाकिस्तान सम्बन्ध, आतंकवाद र क्षेत्रीय सुरक्षा विषयमा अनुसन्धानहरू गरेका छन्। दक्षिण तथा मध्य एसियामा बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका बिच वर्तमान अवस्थामा नेपालको परराष्ट्र नीति चर्चामा आइरहेको छ। बालेन नेतृत्वको सरकारले कूटनीति क्षेत्रमा चालेको कदमले चर्चा पाएको छ।
भ्रमणमा आउन लागेका सहायक विदेशमन्त्री कपुरले क्षेत्रीय स्थिरता, सुरक्षा, र सहकार्यका विषयमा नेपालसँग धारणा आदानप्रदान गर्न बताइएको छ। उनले भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालसहित उच्चस्तरीय भेटघाट गर्ने बताइएको छ। यद्यपि प्रधानमन्त्री बालेनसँग भेटघाट हुने कि नहुने अझै टुगों नलागेको बताइएको छ।