कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चको फैसला: गगन थापा पक्ष वैधानिक घोषित
काठमाडौँ: सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा गगन थापा पक्षलाई वैधानिक मान्यता दिएको छ। न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले शुक्रबार शेरबहादुर देउवा पक्षले दायर गरेको रिट खारेज गर्दै यस्तो निर्णय सुनाएको हो। यससँगै करिब तीन महिनादेखि चलिरहेको कांग्रेसको आन्तरिक विवाद कानुनी रूपमा अन्त्य भएको छ।
गत वर्ष पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन भएका थिए। उक्त निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष निर्वाचन आयोग पुगेको थियो। आयोगले थापा पक्षलाई नै आधिकारिकता दिएपछि देउवा पक्ष ४ माघ २०८२ मा सर्वोच्च अदालत पुगेको थियो।
यसबीच थापा पक्षले गत महिना पार्टीको १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो। त्यसलाई रोक्न माग गर्दै देउवा पक्षले पुनः सर्वोच्चमा निवेदन दिएको थियो। यसअघि १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल सकिएपछि महाधिवेशन अघि वा पछि गर्ने विषयमा विवाद चर्किएको थियो, जसका कारण थापा पक्षले विशेष महाधिवेशन आयोजना गरेको थियो।
२१ फागुनमा सम्पन्न निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फका उम्मेदवार देउवाको हस्ताक्षरमा र प्रत्यक्षतर्फका उम्मेदवार थापाको हस्ताक्षरमा अघि सारेको थियो। निर्वाचनमा पराजयपछि थापाले राजीनामा दिए पनि केन्द्रीय कार्यसमितिले अस्वीकार गरेपछि उनी नेतृत्वमै निरन्तर रहेका छन्। उता देउवा पक्षले भने समानान्तर गतिविधि जारी राखेको छ।
यसै क्रममा कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्काले सोही हैसियतमा पार्टीको लेटरप्याड प्रयोग गर्दै विज्ञप्ति जारी गरिरहेपछि अनुशासन समितिले उनलाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ। तर खड्काले उक्त निर्णयलाई अस्वीकार गर्दै स्पष्टीकरण नदिने बताएका छन्।