विराटनगरमा अवैध धर्म प्रचार आरोपमा ६ विदेशी नागरिक पक्राउ
विराटनगर: विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्टर्न स्टारबाट प्रहरीले अवैध रूपमा धर्म प्रचार गरिरहेको आरोपमा ६ जना सिंगापुरका नागरिकलाई नियन्त्रणमा लिएको छ।
शनिबार बिहान होटलको सभा हलमा ‘लाफिङ बुद्ध’ सम्बन्धी धार्मिक कार्यक्रम सञ्चालन भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए।
पक्राउ पर्नेमा कार्यक्रमका प्रमुख नेतृत्वकर्ता सिंगापुरका नागरिक को वी हक र लोह ली पेङसहित अन्य चार जना विदेशी रहेका छन्। कार्यक्रममा उनीहरूसँगै नेपाली सहयोगी निरा राजभण्डारी पनि संलग्न थिइन्। उक्त कार्यक्रममा १६ वर्ष मुनिका १२ जना किशोरीसहित जम्मा ३० जना सहभागी थिए।
प्रहरीका अनुसार सभा हलभित्र ‘लाफिङ बुद्ध’ को मूर्ति राखी गौतम बुद्धको ज्ञानका नाममा प्रशिक्षण दिने बहानामा धर्म प्रचार भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।