सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया मा ५ दिने पुस्तकालय व्यवस्थापन तालिम सुरू, ‘प्रतिभा’ वार्षिक मुखपत्र विमोचन

२०८३ वैशाख ६, १०:०३ खबर संवाददाता

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित श्री प्रतिभा सामुदायिक पुस्तकालय र काठमाडौँस्थित केसर पुस्तकालयको संयुक्त आयोजनामा ५ दिने आधारभूत पुस्तकालय व्यवस्थापन तालिम सुरु भएको छ। कार्यक्रम नेपाल सामुदायिक पुस्तकालय संघ, काठमाडौँको संयोजन तथा गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो।

पुस्तकालयका अध्यक्ष भुपेश जोशीको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा केसर पुस्तकालयका प्रमुख यादवचन्द्र निरौला, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डा. नरेन्द्र बहादुर ऐर, वडा नं. १ का अध्यक्ष गोपालदत्त भट्ट, नेपाल सामुदायिक पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डेय तथा केन्द्रीय सदस्य पुष्पराज जोशी लगायतको उपस्थिति थियो।

कार्यक्रममा उपाध्यक्ष नरेन्द्रराज शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन सचिव धर्मसिंह कुँवरले गरेका थिए। सो अवसरमा ‘प्रतिभा’ वार्षिक मुखपत्र (अङ्क–६) तथा २०८३ सालको भित्तेपात्रो विमोचन गरिएको थियो।

प्रमुख अतिथि नगरप्रमुख भट्टले आगामी आर्थिक वर्षको बजेटमार्फत पुस्तकालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। उद्घाटन सत्रपछि तालिमको औपचारिक सुरुवात गरिएको थियो, जसको सहजीकरण प्रमुख प्रशिक्षक यादवचन्द्र निरौलाले गरिरहेका छन्।

कार्यक्रममा जनप्रतिनिधि, पुस्तकालयका संस्थापक सदस्य, दानदाता, शिक्षक, विद्यार्थी, व्यापारी, सञ्चारकर्मी तथा सर्वसाधारण गरी करिब १०० जनाको सहभागिता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस