सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-४ मा सेनाले छोडेको वनको जग्गामा व्यक्तिहरुको कब्जा

२०८३ वैशाख ६, ११:०४ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा नेपाली सेनाले खाली गरेको वनको जग्गा व्यक्तिको कब्जामा परेको छ। बोराडाँडी सेना ब्यारेकको उत्तरतर्फको शिवपुरी सामुदायिक वनको जग्गा व्यक्तिले कब्जा गरेका हुन्।

२०७५ सालसम्म नेपाली सेनाले तारवार लगाएर आफ्नो नियन्त्रणमा राखेको जग्गा तत्कालीन वडा अध्यक्ष दीपककुमार थापा क्षेत्री र नगरपालिकाको समन्वयमा नेपाली सेनाले खाली गरेको थियो। सेनाले सात वर्ष अगाडि छोडेको वनको जग्गा अहिले भने प्लटिङ गरेर बिक्री भएको छ। केहीले उक्त जग्गामा दुई-तीन तल्ले घर निर्माण गरेका छन् भने कुनै घडेरी तीन-चार पटकसम्म बिक्री भइसेको छ।

तत्कालीन वडा अध्यक्ष थापाका अनुसार नेपाली सेनाबाट जग्गा खाली गराएर उक्त स्थानमा बसपार्क निर्माण गर्ने योजना नगरपालिकाले बनाएको थियो। बसपार्क निर्माण गर्ने भनेर सेनाले ओगटेको वनको जग्गा खाली गर्न पूर्व नगर प्रमुख नृपबहादुर वड डोजर लगेर नै तम्सिएका थिए। त्यो बेला सेनासँग सामान्य विवादसमेत भएको र पछि आपसी समन्वयमै सेनाले जग्गा खाली गरेको पूर्व अध्यक्ष थापाले बताए। 'शिवपुरी सामुदायिक वनको जग्गा सेनाले उपभोग गरेको थियो, नगरपालिकाले त्यो जग्गा खाली गरेर बसपार्क बनाउने योजना अगाडि सारेको थियो,' उनले भने, 'जग्गा खाली गर्ने भनेर पूर्व नगर प्रमुख नृपबहादुर वड डोजर लगेर नै जानु भएको हो; त्यतिबेला सेनासँग सामान्य विवाद पनि भएको हो। पछि नेपाली सेनासँग समन्वय गरे उक्त जग्गा फिर्ता भएको हो।'

सेनाले छोडेको वनको जग्गामा नयाँ बसपार्क बनाउने धनगढी उपमहानगरपालिकाको योजना कार्यान्वयन नभएको पूर्व वडा अध्यक्ष थापाले बताएर। सेनाले छोडेकै जग्गामा उनकै पालामा वडा कार्यालय बनेको छ भने वडा कार्यालयभन्दा उत्तरतर्फको वनको जग्गा भने त्यसपछि अतिक्रमण भएको स्थानीयवासीको दाबी छ।

वडा कार्यालयभन्दा उत्तरतर्फको वनको जग्गा जनप्रतिनिधिकै मिलेमतोमा बिक्री वितरण भएको तथ्य फेला परेको छ। वडा नम्बर ४ मा वडाका जनप्रतिनिधिकै सिफारिसमा जङ्गलको जग्गा किनबेच भएको हो।

स्थानीय जग्गा माफियाले सिट नम्बर ०२७-०६८७-२ को कित्ता नम्बर ११५ को फिल्डबुकमा जङ्ग उल्लेख भएको वडा कार्यालय भवनको उत्तरपट्टिको एक बिघा २ कठ्ठा १२ धुर जग्गा बिक्री गरेका हुन्।

उक्त जग्गा भूमाफियाले विभिन्न १९ जनालाई बिक्री गरेको पाइएको छ। केही व्यक्तिले उक्त जग्गामा पक्की घर नै बनाएर बसेका छन् भने केही घडेरीहरूको अहिले पनि बेचबिखन भइहरको स्थानीयले बताए।

भूमाफियाले उक्त एक बिघा दुई कठ्ठा १२ धुर जग्गामा १९ वटा घडेरी निकालेर आधा कठ्ठाको २० लाखका दरले बिक्री गरेको स्थानीयले बताएका छन्। जग्गा किनबेचको कागज बनाउन वडा कार्यालयकै जनप्रतिनिध संलग्न रहेको बताइएको छ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस