वन्यजन्तु सप्ताहको अवसरमा देवरिया वनस्पति उद्यान र जोखर ताल क्षेत्रमा विशेष कार्यक्रम सम्पन्न
धनगढीः वैशाख १ गतेदेखि ७ गतेसम्म मनाइने वन्यजन्तु सप्ताहको अवसरमा सुदूरपश्चिम प्रदेशमा वन्यजन्तु संरक्षण, जैविक विविधता र व्यवहारिक शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न भएको छ।
नेपाल जुलोजिकल सोसाइटी सुदूरपश्चिम प्रदेशको आयोजनामा तथा कैलाली बहुमुखी क्याम्पस, ऐश्वर्य बहुमुखी क्याम्पस, ग्यालेक्सी मल्टिपल कलेज र कैलाली मोडल सेकेन्डरी स्कुल, धनगढीको सहकार्यमा देवरिया वनस्पति उद्यान र जोखर ताल क्षेत्रमा बक्तृत्वकला प्रतियोगिता तथा प्रकृति अध्ययन एवं अवलोकन कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा आयोजित बक्तृत्व प्रतियोगिताको शीर्षक “सुरक्षित मानव, संरक्षित वन्यजन्तु: जैविक विविधताको संरक्षण र समृद्धिको सेतु” रहेको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले मानव र वन्यजन्तुबीचको सहअस्तित्व, जैविक विविधताको संरक्षण, वातावरणीय सन्तुलन तथा दिगो विकासका विषयमा तार्किक र प्रभावशाली विचार प्रस्तुत गरेका थिए।
प्रतियोगितामा ऐश्वर्य बहुमुखी क्याम्पसकी समिक्षा बोहराले प्रथम स्थान हासिल गरिन् भने कैलाली बहुमुखी क्याम्पसकी रविता महतो द्वितीय र ऐश्वर्य बहुमुखी क्याम्पसका दिनेश जैठरा तृतीय स्थानमा रहन सफल भए। उत्कृष्ट तीनै जना विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा नेपाल जुलोजिकल सोसाइटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष चेतराज भट्ट, महासचिव छात्रराज पण्डित, सचिव देवेन्द्र जोशी, सदस्य शान्ति धामी, सदस्य बिन्दु पन्त लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा अध्यक्ष चेतराज भट्टले “वन्यजन्तु विविधता र यसको महत्व” विषयमा मन्तव्य राख्दै वन्यजन्तु संरक्षणमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताए।