सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृहमन्त्री गुरुङलाई बर्खास्त गर्न जेनजी मुभमेन्ट नेपालको माग

२०८३ वैशाख ७, ११:२१ खबर संवाददाता

काठमाडौँ: जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेको छ।

विवादास्पद व्यापारी दीपक भट्टसँग गृहमन्त्री गुरुङको साझेदारी रहेको विषय सार्वजनिक भएपछि मुभमेन्टका प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गर्दै गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई पदबाट हटाई पक्राउ गरेर अनुसन्धान अघि बढाउनुपर्ने बताएका छन्।

विज्ञप्तिमा मन्त्री पदमा रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने र यो स्वार्थको द्वन्द्वको स्पष्ट उदाहरण हुने उल्लेख गरिएको छ। आफ्नैविरुद्ध छानबिन भइरहँदा पदमा बसिरहनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत भएको भन्दै मुभमेन्टले निष्पक्ष न्यायका लागि गुरुङको पदत्याग अनिवार्य रहेको जिकिर गरेको छ।

त्यसैगरी, विज्ञप्तिमा प्रधानमन्त्री वालेन्द्र शाहलाई परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउन आग्रह गरिएको छ। ‘क्याबिनेटमा कसलाई लैजाने भन्ने निर्णय गम्भीर राजनीतिक र नैतिक विषय हो। हचुवाको भरमा मन्त्री नियुक्त गर्ने र हटाउने प्रवृत्ति अब स्वीकार्य छैन,’ विज्ञप्तिमा भनिएको छ।

मुभमेन्टले यो सरकार ७६ जना शहीदहरूको बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व गर्ने भएकाले जनताको त्यागमाथि सस्तो राजनीति नगर्न चेतावनी दिएको छ। साथै, सुशासन, पारदर्शिता र जवाफदेहिताका विषयमा कुनै सम्झौता वा ढिलासुस्ती सह्य नहुने पनि जनाएको छ।

कमेन्ट लोड गर्नुस