कैलालीमा दुर्लभ किङ कोब्रा देखापर्यो
धनगढी: कैलाली जिल्लाको बड्का बनुवाँ (वसन्ता कोरिडोर) क्षेत्रमा दुर्लभ राजगोमन अर्थात् किङ कोब्रा सर्प देखापरेको छ। कैलारी गाउँपालिका र भजनी नगरपालिकाको सिमाना क्षेत्रमा पर्ने जंगलमा एक जोडी किङ कोब्रा फेला परेको हो।
विपतपुर र हिम्मतपुर गाउँको बीचमा पर्ने जंगल क्षेत्रमा, हुलाकी राजमार्गको किनारमा सोमबार दुईवटा सर्प देखिएको प्रत्यक्षदर्शी रमित ओलीले जानकारी दिएका छन्। कैलालीमा यस्तो अत्यन्त विषालु सर्प विरलै मात्र पाइने बताइन्छ।
सर्प संरक्षण तथा उद्धारकर्ता लक्ष्मण उपाध्यायका अनुसार अहिले सर्पको प्रजनन सिजन भएकाले जोडीसहित देखिनु सामान्य हो। उनका अनुसार किङ कोब्रा सर्पले सामान्यतया मानिसलाई लखेटेर टोक्दैन, तर समात्न खोज्दा भने आक्रमण गर्न सक्छ।
सर्प उद्धारकर्ताहरूका अनुसार यस्तो सर्पबाट सबैभन्दा बढी जोखिम उद्धारकर्ताहरूमै हुने गर्छ। यस प्रजातिको सर्पले टोकेर विष फालेमा उपचार गर्न निकै कठिन हुने बताइन्छ।
राजगोमन सर्पले अन्य विषालु सर्पहरू खाएर मानिसलाई अप्रत्यक्ष रूपमा जोगाउने भूमिका खेल्छ। यो सर्पले जंगलमा झारपातको गुँड बनाएर अण्डा दिने गर्छ।